भक्तपुरमा मनाइयो गाईजात्रा

भक्तपुरमा मनाइयो गाईजात्रा

  • आइतवार, भदौ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

भक्तपुर, १४ भदौः हास्यव्यङ्ग्य र ख्यालठट्टासहित दिवङ्गतहरूको आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा आठ रात नौ दिन मनाइने साँया अर्थात् गाईजात्रा पर्व शनिबार साँझ भैरव मन्दिरबाट परालको ताहमचा निकालेर प्रदर्शन गरी फरक ढङ्गले मनाइएको छ ।

शनिबार पहिलो दिन बिहान तलेजु भवानीको साँया निकालेसँगै सुरु भएको गाईजात्रा आफन्तको सम्झनामा परम्पराअनुसार बिहान भालेको डाँकोसँगै तलेजु भवानीको साँया नगर परिक्रमा गरिएको हो ।

भैरवनाथ जात्रा सहयोग समिति लाकुलाछेंले साँझ भैलद्यो अर्थात् परालको एक ताहमसाँ र लाकुलाछेँ टोलका १८ ताहासाँंहरू नगर परिक्रमा गरी घुमाएको छ । भैलद्य प्रत्येक वर्षजस्तै पोटरी स्क्वायर नजिकैको लाकुलाछें टोलबाट घुमाउन सुरु भई तौमढी, नगरका विभिन्न भाग, दरबरा स्क्वायर परिक्रमा गराएर जात्रा भव्य रूपमा मनाएको हो ।

जनै पूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा साँपारु अर्थात् गाईजात्रा पर्व सुरु हुने परम्परा रहेको भक्तपुरका संस्कृतिविद् श्रीशरण जोशीले जानकारी दिनुभयो । धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एक दिनमात्र स्वर्गको ढोका खुला हुने जनश्रुति रहेकाले त्यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको पुच्छर समातेर बैतरणी तर्दै स्वर्ग जाने जनविश्वास रहेको संस्कृतिविद् जोशी बताउनुहुन्छ ।

यस दिन गाईले हालेको एक पाइलाबाट एक अश्वमेघ यज्ञ गरेबराबरको फल प्राप्त हुने जनविश्वास रहँदै आएको छ । बच्चाहरूको मृत्यु भएमा डोकोमा लिङ्गअनुसारका कपडाले सिङ्गारेर ताहासामा जस्तै गाईको मुखाकृति, परालले बनाएको एकजोडा सिङ तथा कागजका अन्य सजावटका सामग्री राखेर गाईको प्रतीक बनार नगर प्रदर्शन गरिने अर्का संस्कृतिविद् हरिशरण अमात्यले जानकारी दिनुभयो । गर्भवती महिला बिते गर्भको बच्चा प्रतीकस्वरुप आमाकै गाईमा अर्को गाईको आकृति गाँसेर नगर परिक्रमा गराइने प्रचलन रहेको तथा केटाकेटीलाई आकर्षक रुपमा महादेव पार्वतीको भेषमा सिँगारी बाजागाजाका साथ बासा लुइके गरेर प्रदर्शन गर्ने प्रचलन छ ।

भक्तपुरको गाईजात्राको अर्को आकर्षण लट्ठी जुधाएर नाचिने घिन्ताङघिसी नाच हो । अन्यत्रभन्दा फरक र आकर्षण हुने भएकाले भक्तपुरमा जात्रा हेर्नेको भीड लाग्ने गर्दछ । गाईसँगै घिन्ताङघिसी नाच ल्याउनु भक्तपुरको गाईजात्राको विशेषता हो । घिन्ताङघिसी नाचसँगै विभिन्न देवदेवीका नाच निकाल्ने गरिन्छ । यसरी गाईसँगै निस्किने नाचका सहभागी कलाकार, वाद्यवादक सबैलाई जात्रा सकिएपछि सम्बन्धित परिवारले भोज खुवाउने प्रचलन रहेको छ ।

जात्राका दिन भैरव र भद्रकालीको प्रतिकस्वरुप छुट्टै र विशेष ताहमचा निकालेर प्रदर्शन गर्ने प्रचलन छ । काठमाडौँमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगतप्रकाश मल्लले गाईजात्रा पर्व सुरु गराएको इतिहासविद् तथा संस्कृतिविद्हरू बताउँछन् । भक्तपुरमा यो पर्व श्रावण शुक्ल पूर्णिमाको दिनदेखि कृष्णाष्टमीसम्म आठ रात नौ दिन मनाइन्छ ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपछि रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको हो । यतिले पनि रानीको मन शान्त नभएपछि उहाँको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिएकाले गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यसमेत प्रदर्शन गरेको मान्यता छ । गाईजात्राको भोलिपल्टदेखि भक्तपुरमा दैनिक अपराह्नपछि घिन्ताङघिसी नाचसँगै विभिन्न अन्य नाच र व्यङ्ग्य प्रस्तुत गर्ने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी