रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिक तथा प्राविधिकहरूको सुरक्षित उद्धारका लागि चिनियाँ विज्ञहरूको ६ सदस्यीय टोली घटनास्थलमा खटिएको छ। अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको स्वीकृतिमा चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्तरूपमा उद्धारको कार्य अगाडि बढाएको छ। संयुक्त टोलीले सुरुङभित्रको प्राविधिक वस्तुस्थिति र उद्धारको सम्भाव्यताबारे विस्तृत अनुगमन गर्नेछ।
प्रारम्भिक अनुगमनपछि थप प्राविधिक आवश्यकता परेमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका अन्य विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने तयारी छ। सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाली सेना, नेपाल सरकार र चिनियाँ टोलीको एकीकृत प्रयासबाट फसेका मानिसहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।