त्रिभुवन र पोखरा विश्वविद्यालयका कर्मचारीले बाढीपीडितलाई सहयोग गर्ने

त्रिभुवन र पोखरा विश्वविद्यालयका कर्मचारीले बाढीपीडितलाई सहयोग गर्ने

  • शनिबार, भदौ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौँ, १३ भदौः प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि त्रिभुवन र पोखरा विश्वविद्यालयले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । दुवै विश्वविद्यालयका कार्यकारी परिषद्का छुट्टाछुट्टै बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट तहअनुसार निश्चित रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को शुक्रबार बसेको बैठकले उपकुलपति, रजिस्ट्रार र रेक्टरको एक महिनाको पारिश्रमिक कट्टा गर्ने निर्णय गरेको छ । त्यस्तै प्राध्यापक तथा प्रशासनतर्फका सोसरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको दश दिन बराबरको, उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट सात दिन बराबरको रकम कट्टा गरिनेछ ।

यसैगरी मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिन र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनः स्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको जनाइएको छ ।

यसैबीच, पोखरा विश्वविद्यालयले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब रु ७० लाख सहयोग गर्ने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को आज बसेको बैठकले पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार पोखरा विश्वविद्यालयका उपकुलपतिबाट एक महिनाको तलब बराबर तथा प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको दश दिन बराबरको रकम योगदान गरिनेछ । उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक, सहायक प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट सात दिन, उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक, सहायक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट पाँच दिन तथा श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको सुरु तलब कट्टा गरिनेछ ।

पोखरा विश्वविद्यालयका अनुसार यसरी सङ्कलन हुने रकम करिब रु ७० लाख पुग्ने अनुमान गरिएको छ । उक्त रकम विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउन प्रयोग गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी