भोटेकोशी बाढी : शव पहिचानमा समस्या

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

  • शनिबार, भदौ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

गण्डकी, १३ भदौ : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ शवमध्ये अहिलेसम्म छ शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको उहाँको भनाइ छ । “पहिचान भएका शव आवश्यक कानुनी प्रकृया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्न सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम गर्छौँ ।”

पहिचान हुन नसकेका शवको डिएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइने प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । प्रतिष्ठानमा ल्याइएकामध्ये नौ शवलाई मणिपाल शिक्षण अस्पतालमा राखिएको उहाँको भनाइ छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका शव पहिचान तथा परीक्षणका लागि बिहीबार पोखरा ल्याइएको थियो ।

शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ । आफन्तहरू तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन् । प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले शव खोजीमा आएका आफन्तहरूलाई खाना र बासको व्यवस्था मिलाइएको बताउनुभयो । शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ । “आफन्तहरू शवको खोजी र पहिचानका लागि ठाउँठाउँबाट आइरहनुभएको छ”, प्रजिअ गुरुङले भन्नुभयो, “बाढीले बगाएर शव विभिन्न जिल्लामा पुर्‍याएका कारण शव पहिचान नै जटिल बन्दै गएको छ ।”

धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकिएमा कानुनी व्यवस्थाअनुसार पोखरामै समाधिस्त गरिने उहाँको भनाइ छ । त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी