गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

  • शनिबार, भदौ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

काठमाडौँ, १३ भदौ:राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा सुरु गरिएको छ ।

यसरी निकालिएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न तथा द्रव्य दान गर्ने परम्परा छ । गाई नगर परिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका व्यक्तिले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

यही विश्वासका आधारमा राजधानीको वसन्तपुर, असन, इन्द्रचोक, बाङ्गेमुढा, लगन, ओमबहाल, टेकु, त्रिपुरेश्वर, क्षेत्रपाटी, ठमेल, बागबजार, डिल्लीबजार, जयवागीश्वरी, चावहिल, गोकर्ण, साँखु, टोखा र कीर्तिपुरलगायत स्थानमा गाईजात्राका झाँकी निकालिएका छन् ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु भएको हो ।

ऐतिहासिक तथ्यअनुसार राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँमा शोक सबैले बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्ना घरमा दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिइएको र त्यसैअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्राका क्रममा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।

गाईजात्राका क्रममा प्रहसन, सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतसमेत गाइन्छन् । यस वर्ष भने भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण धेरैको निधन भएकाले प्रहसनलगायत हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम आयोजना नगरिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी