काठमाडौँ — रसुवागढीबाट तिब्बततर्फ करिब १८ किलोमिटर माथि ल्हेन्दे खोला थुनिएर ठूलो ताल बनेपछि तल्लो तटीय नेपाली भूभागमा पुनः भीषण बाढीको जोखिम बढेको छ। बुधबारको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घाउ नसकिँदै माथिल्लो क्षेत्रमा फेरि ताल बनेपछि जोखिम थप बढेको हो।
चिनियाँ जलस्रोत अधिकारीहरूका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने आगामी तीन दिनभित्र यो परिमाण ३० लाख घनमिटर पुग्ने अनुमान गरिएको छ। ०.११ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो ताल जुनसुकै बेला फुटेर थप विध्वंस मच्चाउन सक्ने भन्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विपत् तथा मौसमविज्ञहरूले ताल आफैँ फुट्न दिनुभन्दा चीन सरकारसँग तत्काल कूटनीतिक समन्वय गरी नियन्त्रित रूपमा बिस्तारै पानी निकास (रिलिज) गर्नुपर्नेमा जोड दिएका छन्।
नदी तटीय क्षेत्रमा फेरि ठूलो क्षतिको त्रास
राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) का अध्यक्ष डा. सूर्यबहादुर थापाका अनुसार पहिले नै क्षति भइसकेको क्षेत्रमा यति ठूलो परिमाणको पानी एकैपटक बगेमा अकल्पनीय क्षति हुनेछ। “चीन सरकारले प्राविधिक र सैन्य टोली खटाइछाडेकाले नेपाल सरकारले कूटनीतिक पहल गरी जमेको पानी बिस्तारै फुटाउने व्यवस्था मिलाउनुपर्छ, जसले गर्दा नदीको चाप कम भई नेपाली भूभाग जोगिन सक्छ,” थापाले भने।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक दिनेश भट्ट र मौसमविद् वरुण पौडेलका अनुसार हिमपहिरोले खोला थुनिएर बनेको ड्याम फुटेकै कारण बुधबार प्रतिसेकेन्ड १५ मिटरको गतिमा बाढी आएको थियो। उक्त बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, वेत्रावती, मैलुङ र देवीघाटसम्मका बजार, सडक, पुल र जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्याएको थियो।
पूर्वसूचना प्रणाली र क्रस-बोर्डर समन्वयको आवश्यकता
नेपाल बाढी, पहिरो र भूकम्पजस्ता बहुप्रकोपीय जोखिममा रहेकाले दीर्घकालीन समाधानका लागि उच्च हिमाली क्षेत्रमा ‘हाइ अल्टिच्युड अर्ली वार्निङ सिस्टम’ (उच्च उचाइ पूर्वसूचना प्रणाली) जडान गर्न आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
थापाले सीमापार विपत् जोखिम न्यूनीकरणका लागि चीनसँग सम्झौता गरेर ‘क्रस बोर्डर पूर्वसतर्कता प्रणाली’ स्थापना गर्नुपर्ने बताए। जलवायु परिवर्तनका कारण भविष्यमा यस्ता घटना दोहोरिन सक्ने भएकाले चीनसँगको निरन्तर निगरानी, पानीको सतह मापन र सूचना आदानप्रदानलाई तीव्रता दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
हाल रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ। माथिल्लो क्षेत्रको जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।