रसुवा र सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति भएपछि चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती सहर केरुङ आइपुगेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशनमा प्रधानमन्त्री ली उच्चस्तरीय चिनियाँ अधिकारीहरूको टोली नेतृत्व गर्दै उद्धार तथा राहत कार्यको प्रत्यक्ष निरीक्षणका लागि सीमा क्षेत्र पुगेका हुन्।
सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रपति सीले बुधबार नै सम्पूर्ण संयन्त्रलाई राहत र उद्धारमा खटिन निर्देशन दिएका थिए। सोही बमोजिम चिनियाँ जनमुक्ति सेनाको विशेष विमानमार्फत बिहीबार मध्याह्न १४१ जना उद्धारकर्ताहरूको टोलीसहित प्रधानमन्त्री ली केरुङ पुगेका हुन्। उक्त टोलीले अत्याधुनिक ड्रोन तथा प्रविधिसहित खोजी तथा उद्धार कार्य सुरु गरिसकेको छ।
बाढीका कारण चीनतर्फ हालसम्म ३ जनाको शव फेला परेको र ५५८ जना नागरिक बेपत्ता रहेको जनाइएको छ। यसका साथै नेपालतर्फ पनि करिब १०० जना चिनियाँ नागरिक बेपत्ता रहेको चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेको छ। सीमा क्षेत्रमा द्रुत उद्धार कार्य सञ्चालन गर्न र बेपत्ताहरूको खोजतलासका लागि चिनियाँ पक्षले नेपाली अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको छ।