रसुवामा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण व्यापक मानवीय तथा भौतिक क्षति भएको छ। तिब्बत सीमा नजिकैको भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको लेदोसहितको बाढीले रसुवालगायत आसपासका छिमेकी जिल्लाहरूमा ठुलो विनाश मच्चाएको हो। बाढीका कारण घर, सडक, पक्की पुल, जलविद्युत् आयोजना तथा अन्य महत्त्वपूर्ण पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।
पछिल्लो अद्यावधिक जानकारी अनुसार बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने सयौँ नागरिक अझै बेपत्ता रहेका छन्। प्रतिकूल मौसम, लगातारको जोखिम र सञ्चार सेवा अवरुद्ध भएका कारण प्रभावित दुर्गम क्षेत्रहरूमा राहत तथा उद्धार टोलीलाई पुग्न ठुलो कठिनाइ भइरहेको छ।
यसैबिच, ‘प्लानेट ल्याब्स’ ले सार्वजनिक गरेका बाढीअघि र पछिका स्याटेलाइट (उपग्रह) तस्बिरहरूले नेपालका ती प्रभावित क्षेत्रमा भएको विनाशको वास्तविक र भयावह दृश्य उजागर गरेका छन्। उपग्रह तस्बिरहरूको तुलनात्मक अध्ययन गर्दा बाढीले नदी आसपासका सम्पूर्ण बस्ती, कृषि योग्य जमिन र पूर्वाधारहरूलाई क्षणभरमै बगाएर लगेको स्पष्ट देखिन्छ।
सुरक्षा निकाय र विपद् व्यवस्थापन टोलीहरूले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।