रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याउन थालिएको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरूलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीयू टिचिङ) र ट्रमा सेन्टरमा भर्ना गरेर उपचार भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसायाका अनुसार बाढीमा घाइते भएका १४ जनालाई शिक्षण अस्पताल ल्याइएको छ। घाइतेहरूमा एक जना तीन महिनाका बालक (अस्पताल प्रशासनका अनुसार) समेत रहेका छन्। भर्ना गरिएकामध्ये एक जनाको अवस्था गम्भीर रहेकाले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको रोसायाले जानकारी दिए।
यसैगरी, नुवाकोटका तीन जना घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार घाइतेहरूमा दुई पुरुष र एक महिला छन्। पेट, हात र कम्मरमा गम्भीर चोट लागेका उनीहरू तीनै जनालाई आकस्मिक कक्ष (इमरजेन्सी) मा राखेर उपचार भइरहेको छ।
बुधबार बिहान तिब्बततर्फबाट अकस्मात आएको भोटेकोसीको बाढीले रसुवाका तटीय क्षेत्रमा व्यापक जनधनको क्षति पुर्याएको छ। घाइतेहरूको उद्धार कार्य अझै जारी रहेको र काठमाडौँका अन्य अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।