रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। बाढीपछि सञ्चालित खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका विभिन्न नदी तटीय क्षेत्रबाट हालसम्म १४ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार नदीमा बाढीको बहाव अझै तीव्र रहेकाले तटीय क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिइएको छ।
यस्तै, बाढीमा परी घाइते भएका १९ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरूलाई तत्काल उपचारका लागि सेनाको हेलिकप्टर तथा एम्बुलेन्समार्फत विभिन्न अस्पतालहरूमा पठाइएको डीआईजी रेग्मीले जानकारी दिएका छन्। बाढीका कारण रसुवासँगै तल्लो तटीय क्षेत्रहरू नुवाकोट र धादिङमा समेत ठुलो क्षति पुगेको छ।
बेपत्ता भएकाहरूको खोजी र प्रभावित क्षेत्रमा राहत पुर्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ। बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।