। रसुवाको भोटेकोसीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ। बुधबार मध्याह्नसम्ममा नदीले बगाएर ल्याएका सात जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार बाढीमा परेर ज्यान गुमाएकामध्ये नुवाकोटको नदी किनारमा तीन जना र धादिङको सीमा क्षेत्रमा चार जनाको शव भेटिएको हो। बाढी आएपछि ज्यान बचाउन आसपासका पहाडी क्षेत्रतिर भागेका स्थानीय तथा कामदारहरूलाई उद्धार गरी सदरमुकाम धुन्चेतर्फ ओसार्ने काम भइरहेको छ।
प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको उद्धार, शव संकलन तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिएका छन्। घाइतेहरूलाई सुरुमा धुन्चे अस्पताल पुर्याइएको र गम्भीर घाइतेहरूलाई त्रिशूली अस्पताललाई ‘बेस’ बनाएर सेनाको हेलिकप्टरमार्फत उद्धार भइरहेको डीआईजी रेग्मीले जानकारी दिए। त्रिशूलीबाट एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौँका अस्पतालहरूमा ल्याउने गरी तयारी मिलाइएको छ।