काठमाडौँ। तिब्बत (चीन) तर्फबाट अकस्मात आएको भीषण बाढीका कारण रसुवास्थित भोटेकोशी नदी क्षेत्रमा व्यापक क्षति पुगेको छ। नेपाली भूभागमा ठुलो वर्षा नभए पनि सीमापारिबाट आएको बाढीले नदी तटीय क्षेत्रका जलविद्युत् आयोजना, भौतिक संरचना र बस्तीहरूमा ठुलो नोक्सानी पुर्याएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अकस्मात आएकाले तल्लो तटीय क्षेत्रमा सञ्चालित हाइड्रोपावर आयोजनाहरू र केही स्थानीय बस्तीहरूमा बाढी पसेर व्यापक क्षति पुर्याएको खबर प्राप्त भएको छ। “हाम्रो क्षेत्रमा बाढी आउने गरी पानी परेको थिएन, तिब्बततर्फबाटै लेदोसहितको बाढी आएको अनुमान गरिएको छ,” प्रजिअ परियारले भने।
अकस्मात आएको बाढीका कारण प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ। क्षतिको वास्तविक स्थिति बुझ्न र उद्धारलाई तीव्रता दिन नेपाली सेनाको हेलिकप्टर निरीक्षण तथा उद्धारका लागि घटनास्थलतर्फ पठाइसकिएको छ। प्रहरी तथा सेनाको टोलीले स्थानीय प्रशासनसँगको समन्वयमा क्षतिको थप विवरण सङ्कलन र प्रभावितहरूको उद्धार कार्य जारी राखेको छ।