काठमाडौँ। रसुवाको लेन्दे खोला (भोटेकोसी) मा बुधबार बिहान आएको भीषण बाढीका कारण टिमुरेसहितका क्षेत्रमा ठुलो क्षति पुगेपछि गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ। बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन, उद्धार तथा राहत कार्यलाई एकीकृत रूपमा अगाडि बढाउन बैठक बोलाइएको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले टिमुरे र त्यससँगैको अर्को एउटा बजार पूर्ण रूपमा तहसनहस बनाएको छ। रसुवा भन्सार क्षेत्रमा रहेका ठुलो सङ्ख्याका गाडीहरू र अन्य सामग्रीहरू बाढीले बगाएको उनले जानकारी दिएका छन्।
बाढीको प्रभाव कतिसम्म भयावह छ भने गत वर्षको बाढीले बगाएपछि भर्खरै पुन: निर्माण सम्पन्न भएको नयाँ पक्की पुलसमेत भोटेकोसीको बाढीले बगाएको छ। घटना लगत्तै प्रभावित क्षेत्रमा उद्धार टोली खटाइएको र क्षतिबारे थप विवरण सङ्कलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ।