काठमाडौँ। भीषण वर्षाका कारण रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा बाढीले ठुलो क्षति पुर्याएपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट गम्भीर क्षति पुगेको जानकारी दिँदै सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कताका साथ खटिन निर्देशन दिइएको बताएका छन्।
मन्त्री तिमिल्सिनाले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन र नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्न अपिल गरेका छन्। अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न र आपत्कालीन अवस्थामा तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्।
भन्सार क्षेत्रमा अर्थमन्त्री वाग्लेद्वारा खोज तथा उद्धारको समन्वय
यसैबिच, बाढीका कारण टिमुरेस्थित भन्सार कार्यालय र आसपासका क्षेत्र प्रभावित भएपछि अर्थ मन्त्रालयको उच्चस्तरीय टोलीले खोज तथा उद्धारका लागि समन्वय सुरु गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल तथा अर्थ मन्त्रालय प्रशासनको उच्चस्तरीय टोलीले भन्सार कार्यालय र मातहतका निकायसँग निरन्तर सम्पर्कमा रही आवश्यक राहत र उद्धार कार्यको प्रत्यक्ष अनुगमन तथा समन्वय गरिरहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।