काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि गालीगलौज तथा हातपात गर्ने युवकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुमति दिएको छ।
मङ्गलबार बिहान नयाँ बानेश्वरस्थित आकाशेपुल प्रयोग गरेर बाटो काट्न आग्रह गर्दा पैदलयात्री २५ वर्षीय राज कठायतले महिला प्रहरीमाथि गालीगलौज र वादविवाद गर्दै हातपात गरेका थिए। घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कठायतविरुद्ध दुई वटा कसूरमा अनुसन्धान अघि बढाइएको छ। उनलाई ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने’ र ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कठायत जुम्लाको तातोपानी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३१ मा बस्दै आएका छन्। ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि अवाञ्छित व्यवहार गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही हुने प्रहरीले स्पष्ट पारेको छ।