बुटवल। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ। संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयलाई छुट्टाछुट्टै पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्य पदमुक्त गर्ने कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा नयाँ राजनीतिक समीकरणसहित बनेको सरकारलाई समर्थन गर्ने र भदौ १ गते प्रदेशसभामा प्रस्तुत विश्वासको मतको पक्षमा मतदान गर्न जसपा नेपालले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो। तर, काफ्ले दलको निर्देशन विपरीत उक्त बैठकमा जानाजानी अनुपस्थित भएपछि उनीमाथि कारबाही अघि बढाइएको हो।
दलको निर्देशन उल्लङ्घन गरेपछि भदौ २ गते माग गरिएको स्पष्टीकरणको जवाफ नदिएको र भदौ ५ गते दिइएको २४ घण्टे पुन: स्पष्टीकरणको मौकामा पनि चित्तबुझ्दो जवाफ नआएको संसदीय दलले जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) बमोजिम उनलाई दलबाट निष्कासन गर्ने निर्णय गरिएको हो।
पार्टी केन्द्रबाट अन्तिम निर्णय नभएसम्मका लागि काफ्लेलाई प्रदेशसभा सदस्यको रूपमा कायम नराख्न प्रदेशसभा सचिवालयलाई समेत ताकेता गरिएको छ। कुल ५ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशसभामा काफ्ले जसपा नेपालबाट समानुपातिक वा प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्ने सांसद हुन्।