सिमरामा ३ वर्षीया गरिमाको बलात्कारपछि हत्या: आरोपित विद्यार्थीसहित ९ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ। बाराको जितपुर सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका निवासी विद्यार्थी प्रदीप खड्का रहेका छन्। यससँगै उक्त जघन्य अपराधको अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा पर्नेको संख्या ९ पुगेको छ।
गत भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमाको शव फेला परेको थियो। घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा भेटिएकी ती बालिकाको बलात्कारपछि निर्मम हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।
यस घटनाको अनुसन्धानलाई तीव्रता दिइरहेको प्रहरीले आरोपितहरूमाथि कडा सोधपुछ गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले पछिल्लो पटक पक्राउ परेका प्रदीप खड्कासहित हालसम्म ९ जनालाई अनुसन्धानको दायरामा ल्याइएको पुष्टि गरेका छन्। पक्राउ परेका खड्का विद्यार्थी रहेको खुल्न आएको छ भने प्रहरीले घटनामा संलग्न अन्य सम्भावित पाटोहरूको पनि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको छ।