हरवाचरवा मुक्तिको चार वर्ष, समस्या उस्तै : अधिकारवादी सङ्घसंस्था

हरवाचरवा मुक्तिको चार वर्ष, समस्या उस्तै : अधिकारवादी सङ्घसंस्था

  • सोमवार, भदौ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

सुदूरपश्चिम, ८ भदौः विभिन्न अधिकारसम्बन्धी सङ्घसंस्थाले मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसंग आग्रह गरेका छन् । मुक्त हरवाचरवा सङ्घर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न पाँच संस्थाले सो आग्रह गरेका हुन् ।

राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलरी विकास मञ्चद्वारा आज यहाँ जारी संयुक्त प्रेस विज्ञप्तिमा मुक्त घोषणा भएको चार वर्ष हुँदा पनि माग सम्बोधन नहुँनु बिडम्बना भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ,“विसं २०७९ साउन २ गते सरकारले तत्कालीन प्रधानमन्त्रीमार्फत हरवाचरवा प्रथा अन्त्य तथा हरवाचरवा मुक्तिको घोषणा गरेको चार वर्ष पूरा भइसक्दा पनि पहिचान, पुनःस्थापना र अधिकार सुनिश्चित हुन सकेको छैन । यसमा सरकार गम्भीर बन्नुपर्छ ।”

मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको जनाउँदै उनीहरूले भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापनाजस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

मधेस केन्द्रित समस्याका रुपमा रहेको हरवाचरवाको मुद्दा र माग सम्बोधनका लागि विशेषगरी त्यहाँको प्रदेश सरकार, स्थानीय तहको नेतृत्वमा सङ्घीय सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आफूहरुको आग्रह रहेको आरडिएनका अध्यक्ष मोहन ओडले बताउनुभयो ।

“मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा हरवाचरवाको पूर्ण मुक्ति, भूमि अधिकार, सामाजिक सुरक्षा, आर्थिक पुनःस्थापना तथा मर्यादित जीविकोपार्जन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, पर्याप्त बजेट, समयसीमा र प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्न हाम्रो आग्रह छ”, उहाँले भन्नुभयो ।

विशेषगरी मधेस प्रदेशका आठवटै जिल्लामा हरवाचरवाको लगत सङ्कलन तथा प्रमाणीकरण गरी परिचयपत्र वितरण गर्न, भूमिहीन परिवारको पहिचान गरी दिगो पुनःस्थापनाको योजना बनाउन तथा आवश्यक बजेट सुनिश्चित गर्न सरोकारवाला सबै संस्थाको माग रहेको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष रमेश कोलीको भनाइ छ ।

मुक्त हरवाचरवा सङ्घर्ष समितिले मङ्गलबारदेखि आफ्ना माग सम्बोधनका लागि मधेस प्रदेश केन्द्रित आन्दोलनलगायत गतिविधि अगाडि बढाउँदैछ । त्यसको पूर्वसन्ध्यामा आज विज्ञप्ति जारी गरी आफूहरुले सरकार, नागरिक समाज, मानव अधिकारकर्मी तथा सरोकारवाला सबैलाई मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्ने अभियानमा सहयोग गर्न आह्वान गरेको कमैया महिला जागरण समाजका केन्द्रीय अध्यक्ष कृष्णी थारूले बताउनुभयो ।

विज्ञप्तिमा राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष ओड, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष रमेश, मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, कमैया महिला जागरण समाजका केन्द्रीय अध्यक्ष थारू र मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष सुमिता चौधरीले हस्ताक्षर गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ