मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार स्कारपियो गाडी दुर्घटनामा परेको छ। मंगलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा दुई महिला र चार पुरुष गरी कुल ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको र मुख्य न्यायाधीश डाँगीसहित अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली तत्काल घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई सुरुमा प्राथमिक उपचारका लागि भीमफेदी अस्पताल पुर्याइएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा विशेष टोली खटिएको छ। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहे पनि उक्त मार्गमा सवारी आवागमन भने सहज र सुचारु रहेको प्रहरीले स्पष्ट पारेको छ। घाइतेहरूको विस्तृत पहिचान संकलन गर्ने कार्य भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।