दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो प्रविधि स्तरोन्नति गर्ने योजना अनुसार देशका विभिन्न ५ जिल्लामा तेस्रो पुस्ताको थ्रिजी (3G) सेवा बन्द गर्ने भएको छ। कम्पनीका अनुसार भदौ १ गतेदेखि लागू हुने गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका २०० भन्दा बढी टावरहरूबाट उपलब्ध गराउँदै आएको थ्रिजी सेवा पूर्ण रूपमा बन्द गर्न लागिएको हो।
यस निर्णयबाट गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका पाल्पा र बर्दिया तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका विभिन्न स्थानीय तहहरू प्रभावित हुनेछन्। थ्रिजी सेवा बन्द भएसँगै कम्पनीले सो फ्रिक्वेन्सीलाई फोरजी (4G) नेटवर्क बलियो बनाउन प्रयोग गर्नेछ। एनसेलले ग्राहकहरूलाई उच्च गुणस्तरीय भ्वाइस र डेटा सेवाका लागि फोरजी तथा ‘भ्वाइस ओभर लङ टर्म एभोल्युसन’ (VoLTE) प्रविधिमा अपग्रेड हुन आग्रह गरेको छ।
कम्पनीकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार २०२७ को पहिलो त्रैमासिकभित्र देशभर थ्रिजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखिएको छ। ग्राहकहरूले *123*11# डायल गरी वा मोबाइल फोनको सेटिङमार्फत सजिलै भोल्टे (VoLTE) सेवा सक्रिय गर्न सक्नेछन्। यसअघि पनि एनसेलले गत असार र माघ महिनामा विभिन्न जिल्लाहरूमा चरणबद्ध रूपमा थ्रिजी सेवा बन्द गरिसकेको छ।