काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताएका छन्।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आफ्नो स्वास्थ्यबारे चासो राख्ने, चिन्ता गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
देउवाले गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि उनले उल्लेख गरेका छन्।
उनले नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने र आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्।
वर्तमान सरकारले जनतामा देखिएको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै देउवाले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको चाहना पूरा गर्न सरकार अघि बढ्नुपर्ने बताएका छन्।
आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उनले उल्लेख गर्दै युवा पुस्ता अघि बढ्नुपर्ने तर पाका र अनुभवी पुस्तालाई पूर्ण रूपमा खराब देखाउने भाष्य उचित नभएको देउवाले बताएका छन्।
देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै राष्ट्रियता र लोकतन्त्र सुदृढ गर्नुपर्ने उनको भनाइ छ।