काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनाको विदेश बसाइ र उपचारपछि आज स्वदेश फर्किँदै हुनुहुन्छ।
थाई एयरको उडानबाट उहाँ बिहीबार मध्याह्न साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने कार्यक्रम रहेको नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।
गत फागुनमा भएको ‘जेनजी आन्दोलन’का क्रममा साङ्घातिक आक्रमणमा परी घाइते हुनुभएका देउवा १३ फागुन २०८२ मा उपचारका लागि सिंगापुर जानुभएको थियो। त्यसपछि थप उपचारका क्रममा हङकङ पुग्नुभएका उहाँ ६ महिनापछि घर फर्कन लाग्नुभएको हो।
स्वदेश फर्किन लाग्नुभएका देउवालाई विमानस्थलमा कांग्रेसको संस्थापनइतर समूहले बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरेको छ।
स्वदेश फर्किएलगत्तै देउवा शुक्रबारदेखि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुने इतर समूहको तीन दिने राष्ट्रिय भेलामा सहभागी हुनुहुनेछ। दिउँसो १ बजे उद्घाटन हुने उक्त भेलामा देशभरका करिब ५ हजार नेता-कार्यकर्ताहरूको उपस्थिति रहने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो।