बुद्धशरण शाही –
काठमाडौँ। नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूमा आजबाट गुँला पर्व प्रारम्भ भएको छ ।
साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने एक सांस्कृतिक तथा धार्मिक पर्व हो। यस अवधिमा भक्तजनहरू बिहानै उठी मौलिक परम्परागत बाजागाजाका साथ चैत्य, स्तूपा र बिहारहरूको परिक्रमा गर्ने, बुद्धको पूजा गर्ने र दान दिने गर्दछन्।
धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति भक्तिभाव प्रकट गर्न बौद्ध स्तूप , चैत्य र गुम्बाको परिक्रमा गरी बुद्ध भगवानको ध्यान गर्ने प्रचल छ । बौद्ध धर्म तथा संस्कृतिविद्हरूका अनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्यमा परिक्रमा तथा सेवा गर्ने चलन थियो र कालान्तरमा त्यसलाई ‘ गुँला धम्म ‘ भन्न थालियो ।
भाषा वंशावलीअनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि श्रावण शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला धम्मको परम्परा बसाएका हुन् । नेपाल भाषामा ‘ गु’को अर्थ नौ र ‘ ला’को अर्थ महिना हुन्छ । नेपाल संवत् प्रारम्भ भएको नौ महिना पूरा भएपछि यो पर्व मनाइने हुँदा यस महिनाका पक्षहरूलाई गुँलाथ्व र गुँलागा भन्ने गरिन्छ ।
स्वयम्भू पुराणअनुसार प्राचीन समयमा काठमाडौं उपत्यका एउटा ठूलो दह थियो । कुनै बेला विपस्वी बुद्ध आई उक्त दहमा कमलको फूल रोपेर गएका थिए । त्यो कमल फुलेपछि त्यसमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भूनाथ प्रादुर्भाव हुनुभयो । यसरी उत्पत्ति भएका ज्योतिस्वरूप स्वयम्भूनाथको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री आएका थिए । उनले चोभारमा आई आफ्ना दुई पत्नी वरदा र मोक्षदालाई चोभारको दायाँ र बायाँतिरका पहाडमा बसाए र खड्गले चोभारको डाँडालाई प्रहार गरेर दह खोली पानी बाहिर निकाले । पानी निखिएपछि उनले मञ्जुपत्तन नामको सहर स्थापना गरेको किम्बदंतिमा छ । सहर स्थापना भएपछि ज्योतिरूप स्वयम्भू उत्पत्ति भएको डाँडामा बौद धर्मालावीहरुको आश्थाको केन्द्र बन्न पुग्यो।
कालान्तरमा ज्योति रुपी स्वयम्भुमा महायान गुरु शान्तिकराचार्यले स्वयम्भु महाचैत्य स्थापना गर्न लगाए पछी नियमित नौवौ एक महिना प्राथना गर्ने परम्परालाई गुँलाथ्व र गुँला भनिले गरिएको किम्वादंतिमा छ।