काठमाडौँ, २२ साउनः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष २०८२/८३ मा अखाद्य तथा गुणस्तरहीन वस्तु उत्पादन र बिक्री वितरण गर्ने १४२ जना खाद्य तथा दाना व्यवसायीविरुद्ध अदालत तथा जिल्ला प्रशासन कार्यालयहरूमा मुद्दा दायर गरेको छ।
विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण अनुसार, संकलित नमुनाहरूको विश्लेषण परीक्षण गर्दा न्यूनस्तर र दूषित खाद्य पदार्थ फेला परेका व्यवसायीहरूमाथि कारबाही अघि बढाइएको हो। दायर गरिएका १४२ मुद्दाहरूमध्ये ७३ वटा न्यून गुणस्तरयुक्त, ३२ वटा दूषित खाद्य पदार्थ, १२ वटा ऐन-नियम उल्लङ्घन र २५ वटा लेबलसम्बन्धी कसूरका रहेका छन्। ऐनको प्रावधान बमोजिम दूषित खाद्य पदार्थका मुद्दाहरू सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा पेस गरिएको विभागले जनाएको छ।
२,९४८ नमुना परीक्षण गर्दा १२७ प्रतिकूल, २९ खाद्य वस्तु ‘रिकल’
गत आवमा विभाग र मातहतका कार्यालयहरूबाट ३,३६५ वटा नमुना सङ्कलन गरिएकोमा २,९४८ वटाको विश्लेषण परीक्षण सम्पन्न भएको थियो। परीक्षण गरिएका नमुनामध्ये ४.३० प्रतिशत अर्थात् १२७ वटा नमुना अखाद्य वा तोकिएको मापदण्ड विपरीत (प्रतिकूल) पाइएका थिए। जसमा खाद्यान्न तथा दलहनका ४७, प्रशोधित पिउने पानीका २१, दुग्ध पदार्थका १७, फलफूल तथा सागपातका १०, दाना पदार्थका १०, तेल तथा घ्यूका ९, मसलाका ७, कन्फेक्सनरीका ३, गुलियो पदार्थका २ र चिया/कफीका १ वटा नमुना गुणस्तरहीन ठहरिएका हुन्।
त्यस्तै, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ बमोजिम बजारमा पठाइएका अखाद्य वस्तुहरू फिर्ता बोलाउन (रिकल गर्न) विभागले २९ पटक आदेश जारी गरेको थियो। पफ, क्रोसान्ट, धुलो मसला, प्रशोधित पानी, चाउचाउ, बिस्कुट, तोरीको तेल, फ्लेभर्ड दूध र आइसक्रिम लगायतका वस्तुहरू बजारबाट फिर्ता गराइएको विभागको विवरणमा उल्लेख छ।
८६ लाखभन्दा बढीको अखाद्य वस्तु जफत र नष्ट
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमतिपत्र नलिई सञ्चालन गरिएका रु. ८६ लाख ३१ हजार ६०१ बराबरका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ। देशभरका उद्योग, बजार, होटल तथा रेस्टुरेन्टहरूमा गरी कुल १२,८०६ पटक निरीक्षण अनुगमन गरिएको र मोबाइल ल्याब भ्यानमार्फत १२३ पटक आकस्मिक अनुगमन तथा परीक्षण गरिएको विभागले जनाएको छ।
यसबाहेक, भारतको NABL र FSSAI बाट परीक्षण प्रतिवेदनको मान्यता नवीकरण भएकाले नेपालबाट जुस, जाम, अदुवा, ताजा तरकारी तथा चाउचाउ जस्ता ८ प्रकारका खाद्य वस्तुहरू प्रयोगशाला परीक्षणका आधारमै भारत निर्यात गर्न सहज भएको छ। अनलाइन प्रणाली ‘NeFFILS’ मार्फत ४,२४७ वटा उद्योगको लाइसेन्स जारी, नवीकरण तथा दर्ता सिफारिस गरिएको विवरणमा उल्लेख छ।