चीन र दक्षिण एसिया जोड्ने ‘गतिशील पुल’ बन्न नेपाल तयार छ; परराष्ट्रमन्त्री शिशिर खनाल

चीन र दक्षिण एसिया जोड्ने ‘गतिशील पुल’ बन्न नेपाल तयार छ; परराष्ट्रमन्त्री शिशिर खनाल

  • शुक्रबार, साउन २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाली क्षेत्रबिच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले एक गतिशील र जीवन्त पुलको भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (NIICE) र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रको संयुक्त आयोजनामा ललितपुरमा आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री खनालले सो धारणा राखेका हुन्।
नेपालले दुवै छिमेकी मुलुकहरूसँग सार्वभौम समानता, पारस्परिक सम्मान, पारस्परिक हित तथा एकअर्काका वैध चासोप्रतिको संवेदनशीलताका आधारमा स्वतन्त्र रूपमा सम्बन्ध सुदृढ गर्दै आएको उनले स्पष्ट पारे।

 ‘नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति’

परराष्ट्रमन्त्री खनालले एसियाको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको उल्लेख गर्दै सहकार्य नै दिगो विकास र समृद्धिको सबैभन्दा भरपर्दो माध्यम भएको बताए।
“हाम्रो परराष्ट्र नीति जनताको जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिएको छ,” मन्त्री खनालले भने, “व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु नै यसको मूल उद्देश्य हो। नेपाल दिगो, समावेशी र उत्थानशील विकासका लागि सबै मित्रराष्ट्रसँग सहकार्य गर्न तयार छ।”
उनले दक्षिण एसियामा विशाल आर्थिक सम्भावना हुँदाहुँदै पनि क्षेत्रीय आर्थिक एकीकरण अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै सहकार्यको सफलता सम्झौताका संख्यामा नभई नागरिकका लागि कति अवसर सिर्जना गरियो भन्ने आधारमा मापन हुनुपर्नेमा जोड दिए।
“हाम्रो आकांक्षा नेपाललाई भूपरिवेष्ठित देशबाट चीन र दक्षिण एसियालाई जोड्ने जीवन्त र गतिशील पुलमा रूपान्तरण गर्नु हो।”

 जलविद्युत्, पर्यटन र ‘सफ्ट पावर’मा लगानीको आह्वान

नेपाल दुई ठूला तथा तीव्र गतिमा विकसित अर्थतन्त्रबिच अवस्थित रहेकाले त्यसलाई ठूलो आर्थिक अवसरका रूपमा लिइएको मन्त्री खनालको भनाइ थियो। उनले नेपालमा रहेका लगानीका प्रमुख सम्भावनाहरू र नेपालको ‘सफ्ट पावर’बारे चर्चा गरे:
  • जलविद्युत् क्षमता: ४२ हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता।
  • प्राकृतिक तथा जैविक विविधता: समृद्ध जैविक विविधता, प्रचुर जलस्रोत र उर्वर कृषि क्षेत्र।
  • डिजिटल अर्थतन्त्र: विस्तारोन्मुख डिजिटल अर्थतन्त्र र नवप्रवर्तनका क्षेत्र।
  • सांस्कृतिक सफ्ट पावर: भगवान् बुद्धको जन्मस्थल, गुरु पद्मसम्भवको आध्यात्मिक विरासत, सगरमाथा तथा विश्व सम्पदा सूचीमा सूचीकृत धरोहरहरू।
मन्त्री खनालले बहुध्रुवीय विश्वमा विश्वास, पारस्परिक सम्मान र साझा हितमा आधारित साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिँदै एसियाको भविष्य केवल अर्थतन्त्रको आकार वा प्रविधिको गतिले नभई निर्माण गरिने साझेदारीको गुणस्तर र एकअर्काप्रतिको विश्वासले निर्धारण गर्ने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी