हसिनाले फर्किन्छु त भनिन्, तर बंगलादेशमा घटेको छैन उनीविरुद्धको आक्रोश

हसिनाले फर्किन्छु त भनिन्, तर बंगलादेशमा घटेको छैन उनीविरुद्धको आक्रोश

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

एजेन्सी  ।  विद्यार्थी तथा जनआन्दोलनका कारण सत्ताच्यूत भई भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू जुनसुकै जोखिम मोलेर पनि स्वदेश फर्किने घोषणा गरेकी छन्।
आफ्नो १५ वर्षे शासन ढलेको दोस्रो वर्ष पूरा भएको अवसरमा बुधबार नयाँ दिल्लीस्थित ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया’ द्वारा आयोजित कार्यक्रमलाई भर्चुअल (अडियो) सम्बोधन गर्दै ७८ वर्षीया हसिनाले आफू पक्राउ पर्न, जेल जान वा मृत्युदण्ड भोग्न समेत तयार रहेको तर समर्थक र देशबाट टाढा नरहने बताएकी हुन्। “मलाई थाहा छ— म पक्राउ पर्न सक्छु, सायद जेल हालिन सक्छु। नक्कली मुद्दामा गरिएको फैसला लागू गर्न पनि कोसिस गर्लान्। तर, त्यो डरले जनताप्रतिको मेरो कर्तव्यलाई रोक्न सक्दैन,” हसिनाले भनिन्, “उनीहरूले मलाई जेल हाल्न सक्छन् वा मार्न सक्छन्, जे पनि हुन सक्छ। तैपनि म त जानैपर्‍यो नि!”

गत २०२४ को जनविद्रोहका क्रममा १४ सयभन्दा बढी मानिसको हत्याको आदेश दिएको अभियोगमा नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध अदालतले हसिनालाई मानवताविरोधी अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

ढाकामा पुत्ला दहन, क्रिकेट टोलीका पूर्वकप्तान साकिबको घरमा तोडफोड

हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गरिरहँदा बंगलादेशको राजधानी ढाकामा प्रदर्शनकारीहरूले उनको पुत्ला जलाएका छन्। हसिनाको भर्चुअल कार्यक्रममा पूर्व क्रिकेट कप्तान एवं अवामी लिगका पूर्वसांसद साकिब अल हसन पनि सहभागी भएपछि क्रुद्ध भीडले ढाकाबाट १७० किलोमिटर टाढा मगुरामा रहेको उनको पैतृक घरमा आक्रमण र तोडफोड गरेको छ।

हसिनाको सम्बोधनअघि बंगलादेशका वर्तमान प्रधानमन्त्री तारिक रहमान र अन्तरिम सरकारका पूर्वप्रमुख मुहम्मद युनुसले हसिनाको पूर्वसरकारी निवासलाई ‘२०२४ को क्रान्ति समर्पित सङ्ग्रहालय (म्युजियम)’ का रूपमा उद्घाटन गरेका थिए। भारत र बंगलादेशबीच थपियो कूटनीतिक तिक्तता हसिनालाई भारतीय भूमिबाट यस्ता राजनीतिक गतिविधि गर्न अनुमति दिइएकोमा बंगलादेश सरकारले नयाँ दिल्लीप्रति कडा आपत्ति जनाएको छ।

“हत्यारा ठहर भएकी हसिना र उनको सञ्जालले बंगलादेशको राजनीतिमा कहिल्यै ठाउँ पाउने छैन। भारतले आफ्नो भूमि बंगलादेश विरुद्ध प्रयोग गर्न दिनु हाम्रो सार्वभौमसत्ता विपरीत हो।” बंगलादेशले २०१३ को सुपुर्दगी सन्धि अनुसार हसिनालाई बुझाउन भारतसँग पटक-पटक माग गर्दै आएको छ। यता भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने उक्त कार्यक्रममा भारत सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

हसिनाको घोषणाले प्रतिबन्धित अवामी लिगका कार्यकर्ताहरूमा उत्साह जगाए पनि राजनीतिक विश्लेषकहरू र आन्दोलनकारी विद्यार्थीहरू भने यसलाई केवल ‘राजनीतिक गफ’ र ‘कार्यकर्ता टिकाइराख्ने दाउ’ ठान्छन्। सन् १९७५ मा पिता शेख मुजिबुर रहमानको हत्यापछि निर्वासनमा गएर १९८१ मा फर्किएकी हसिनाका लागि यसपटकको परिस्थिति भने अदालत, जनताको आक्रोश र राजनीतिक प्रतिबन्धका कारण निकै जटिल र असम्भवप्रायः देखिन्छ। (अल जजिराको सहयोगमा)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी