गृहमन्त्री आफैँ फिल्डमा खट्दा एआईजीहरू किन झरेनन् मधेस?

गृहमन्त्री आफैँ फिल्डमा खट्दा एआईजीहरू किन झरेनन् मधेस?

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताको शव दुई दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। साउन १० गते राति कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका उनको काठमाडौँमा उपचारका क्रममा मङ्गलबार मृत्यु भएको थियो।

मृत्युपछि परिवार र सरकारबिच सहमति जुट्न नसक्दा शव अस्पतालमै रहेको छ। यद्यपि, गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग बिहीबारसम्ममा सहमति कायम गरी शव बुझाउने प्रयास जारी राखेका छन्। यसअघि गृहमन्त्री गुरुङले सोही घटनाका कारण ज्यान गुमाएका अन्य तीन जनाका परिवारसँग छुट्टाछुट्टै सहमति गरिसकेका छन्, जसले मधेसमा बढेको तनावलाई समयमै नियन्त्रणमा लिन मद्दत पुर्याएको थियो।

रवीन्द्रको मृत्युपछि बुधबार कप्तानगन्जमा स्थानीयले प्रदर्शन गरे पनि स्थिति नियन्त्रणमै रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।

विराटनगरबाट संवाद सुरु गरेका गृहमन्त्री गुरुङले जनकपुरसम्म पुगेर स्थिति साम्य पारेपछि प्रहरीका उच्च अधिकारीहरूलाई प्रत्यक्ष रूपमा फिल्डमा खटिनुपर्ने अवस्था नरहेको बताइएको छ। मधेसमा तनाव बढेपछि प्रहरी प्रधान कार्यालयले चार एआईजी र दुई डीआईजीसहितको टोली खटाउने निर्णय गरेको थियो। तर, स्थिति सामान्य बन्दै गएपछि तीन जना एआईजी फिल्डमा नगई प्रधान कार्यालयबाटै समन्वय र निर्देशनमा सीमित भएका छन्।

प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार एआईजीहरू सिद्धिबिक्रम शाह (बाँके), हिमालयकुमार श्रेष्ठ (मधेस प्रदेश), उमाप्रसाद चतुर्वेदी (कपिलवस्तु) र ईश्वर कार्की (सुनसरी) लाई खटाउने निर्णय भएकोमा एआईजी हिमालयकुमार श्रेष्ठ तथा सम्बन्धित क्षेत्रका डीआईजी र एसएसपीहरू मात्र फिल्डमा खटिएका थिए। मधेसको अवस्था सामान्य बनेपछि अन्य एआईजीहरूलाई काठमाडौँबाटै समन्वय गर्न निर्देशन दिइएको हो।

सप्तरीबाट फर्किएका डीआईजी काफ्लेले सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषा र पर्सामा लगाइएका कर्फ्यू तथा निषेधाज्ञा हटाइएको र अतिरिक्त खटाइएका सुरक्षाकर्मीहरूलाई नियमित कार्यक्षेत्रमा फर्काउन थालिएको जानकारी दिए।

संवादमार्फत सहमति र छानबिन

कप्तानगन्ज घटनाको पाँचौँ दिन (साउन १४ गते) गृहमन्त्री विराटनगर पुगेर अस्पतालमा उपचाररत घाइतेहरूसँग भेटघाट गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित समितिले घटनास्थलको अध्ययन गरी प्रतिवेदन तयार पारिरहेको छ।

गृहमन्त्रीले कप्तानगन्जमै पुगेर मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग ७ बुँदे सहमति गरेका थिए। सहमतिमा मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, मदरसाको कानुनी हैसियतबारे छानबिन गर्ने, परिवारका एक सदस्यलाई रोजगारी दिने र स्थानीय तहको समन्वयमा स्मृति पार्क निर्माण गर्ने उल्लेख छ। सोही सहमति बमोजिम मन्त्रिपरिषद् बैठकले राहत तथा क्षतिपूर्तिको निर्णय गरिसकेको छ।

यसै गरी, सिराहाको गोलबजारमा ज्यान गुमाएका गणेश यादवका परिवारसँग पनि गृहमन्त्रीले ७ बुँदे सहमति गरेका थिए। धनुषा पुगेर धार्मिक अगुवा र आन्दोलनरत पक्षसँग छलफल गरी गृहमन्त्रीले स्थिति शान्त पारेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को देशवासीका नाममा सम्बोधन, रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक तथा केन्द्रीय सुरक्षा समितिको सुझावका आधारमा सरकारले राजनीतिक र सामाजिक संवादमार्फत समस्याको समाधान खोजेको हो।

गृहमन्त्रीको तदारुकताले मधेसको स्थिति तत्कालका लागि सामान्य बनाए पनि भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन सुरक्षा रणनीति आवश्यक रहेको सुरक्षा विश्लेषकहरूको भनाइ छ। यही विषयलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर हिंसात्मक घटना रोक्ने विषयमा आवश्यक निर्देशन दिइसकेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी