नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र विभाजनको जोखिम उच्च बनेपछि सभापति गगन थापा आफैँ निर्णायक संवादमा जुट्ने भएका छन्।
कार्यदल तहका छलफलले कुनै ठोस निकास दिन नसकेको र संस्थापन इतर पक्ष साउन २९ को राष्ट्रिय भेलाको तयारीमा तीव्र रूपमा लागेपछि सभापति थापाले इतर समूहका मुख्य नेताहरूसँग सिधा संवादको तयारी थालेका हुन्।
शेखर र पूर्णबहादुरसँग सिधा संवाद गर्दै गगन
कार्यदल बनाएर सहमति खोज्न नेता डा. शेखर कोइराला सकारात्मक भए पनि निवर्तमान उपसभापति पूर्णबहादुर खड्का तयार नभएपछि सभापति थापा स्वयं अगाडि सर्न लागेका हुन्।
सभापति थापाको सचिवालयका अनुसार डा. शेखर कोइराला र पूर्णबहादुर खड्कासँग एक-दुई दिनभित्रै भेटघाट र गहन छलफल गर्ने तयारी भइरहेको छ।
“पार्टीभित्रको मतभेद मिलाउन म आफैँ संवाद थाल्छु। १४औँ महाधिवेशनको कार्यसमिति मर्ज गर्नेबाहेकका अन्य विषयमा लचिलो बन्न म तयार छु,” सभापति थापाको भनाइ उद्धृत गर्दै सहमहामन्त्री योगेन्द्र चौधरीले बताए।
कुन-कुन विषयमा लचिलो बन्दैछन् सभापति?
-
१५औँ महाधिवेशन आयोजक समिति: १५औँ महाधिवेशनका लागि साझा आयोजक समिति बनाउन तयार।
-
विषयगत समितिहरू: निर्वाचन समिति, क्रियाशील सदस्यता समिति र विधान संशोधन समितिमा इतर पक्षलाई उचित प्रतिनिधित्व दिन सकारात्मक।
-
क्रियाशील सदस्यता छानबिन: मौजुदा समितिले नपुगे नयाँ छानबिन समिति बनाएर इतर पक्षका प्रतिनिधि समेट्न तयार।
इतर पक्षको अडान: “आधा घण्टामै मिल्न सक्छ पार्टी”
इतर समूहले साउन १६ मा पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरी साउन २९ को राष्ट्रिय भेलाको तयारी तीव्र पारिरहेको छ।
इतर समूहका प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माले पार्टी एकता पूर्ण रूपमा सभापति थापाको कदममा निर्भर रहेको बताएका छन्।
“देखाउनका लागि मात्रै भेटवार्ता गरिए परिणाम आउँदैन। सभापति गगन थापाले चाहने हो र कुनै चमत्कारिक निर्णय गर्ने हो भने आधा घण्टामै पार्टी मिल्छ,” विश्वकर्माले भने।
पार्टी बचाउन चौतर्फी ‘एकता दबाब अभियान’
विभाजनको डिलमा पुगेको कांग्रेसलाई जोगाउन तल्लो तहदेखि शीर्ष नेतासम्म एकताको चौतर्फी दबाब सिर्जना भएको छ:
१. ३५ निवर्तमान केन्द्रीय सदस्यको त्यागको घोषणा
विशेष महाधिवेशनबाट आएको कार्यसमितिभन्दा बाहिर रहेका १११ जना निवर्तमान केन्द्रीय सदस्यमध्ये ३५ जनाले पार्टी एकताका लागि आफूहरू केन्द्रीय सदस्य नबन्ने घोषणा गरेका छन्। निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले भने, “हामी ३५ जना बाहिरै बस्न तयार छौँ, बाँकी नेताहरूलाई सभापतिजीले समेटेर लैजानुहोस्।”
२. साउन २० को वृहत कार्यक्रम र साउन २७ मा पालिका प्रमुखहरूको भेला
-
साउन २०: सबै विचार समूहलाई एकै ठाउँमा राखेर दबाब कार्यक्रम आयोजना गरिँदै छ।
-
साउन २७: कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरूले पार्टी एकताका लागि दबाब दिन काठमाडौँमा राष्ट्रिय भेला बोलाएका छन्।
नेत्री तथा नेताहरूले वडा र टोल तहसम्म हस्ताक्षर अभियान र अनशनसम्मका दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएका छन्। डा. शेखर कोइराला र केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पनि एकता अभियानले सकारात्मक संवादको वातावरण बनाएको भन्दै यसको प्रशंसा गरेका छन्।