प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबिच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सम्पन्न भएको छ।
मंगलबार बिहान सवा ११ बजेदेखि सुरु भई साढे दुई घण्टासम्म चलेको उक्त बैठकमा सुदूरपश्चिम क्षेत्रमा सांसदहरूले झेल्नुपरेका समस्या र उनीहरूका गुनासो सुन्न प्रधानमन्त्रीकै चाहना अनुसार छलफल डाकिएको थियो। बैठकमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्रसिंह महता, जगत जोशी र केपी खनाल गरी आठ जना माननीयहरूको सहभागिता रहेको थियो।
तर, छलफलमा सहभागी सांसदहरूका अनुसार प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका गम्भीर विषयहरूमा चित्तबुझ्दो जवाफ नदिई टार्ने प्रयास गर्नुभएको छ। संसद्मा प्रधानमन्त्रीको न्यून उपस्थिति, सरकारको कार्यशैली, सीमा समस्या र रासायनिक मलको अभाव जस्ता संवेदनशील विषयमा सांसदहरूले राखेको जिज्ञासामा प्रधानमन्त्रीले सकारात्मक र सहजरूपमा संवाद गर्न नसकेको सहभागी सांसदहरूको गुनासो छ।
विशेष गरी प्रधानमन्त्री शाह संसद्मा नियमित रूपमा नआएको र हालसम्म जम्मा छ पटक मात्र उपस्थित भएर एकैछिनमा फर्किने गरेको भन्दै प्रतिपक्षी दलहरूले आलोचना गरिरहेको सन्दर्भमा आफ्नै पार्टीका सांसदहरूले समेत यो विषय उठाएका थिए। सांसद ज्ञानेन्द्रसिंह महताका अनुसार प्रधानमन्त्री संसद्मा नआउँदा प्रतिपक्षसँग लड्न र सरकारको बचाउ गर्न समस्या परेको भन्दै सांसदहरूले उहाँलाई संसद्मा उपस्थित भइदिन आग्रह गरेका थिए।
तर, प्रधानमन्त्री शाहले त्यसलाई हल्का रूपमा लिँदै ‘विपक्षीहरूले कुनै न कुनै निहुँ बनाइहाल्छन्, त्यसैले संसद्मा नआएको कुरालाई धेरै ठूलो नठान्नुहोस्’ भन्दै पन्छाउन खोज्नुभएको थियो। त्यसको प्रतिवाद गर्दै सांसद तारा जोशीले संसद्मा प्रधानमन्त्रीको सम्बोधन महत्त्वपूर्ण हुने र उपस्थित हुनैपर्ने अडान राखेपछि मात्र प्रधानमन्त्री केही कुरा सुन्ने मुडमा पुग्नुभएको थियो। यद्यपि, प्रधानमन्त्री शाहले आफू अल्झिनभन्दा काम गर्नतिर केन्द्रित रहेको र आवश्यकताका आधारमा मात्र संसद्मा जाने अडान दोहोर्याउनुभएको थियो।
यसैगरी, सुदूरपश्चिमको दार्चुलास्थित लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापार सुरु गरेको विषय र नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (SSB) ले निर्माणाधीन तटबन्ध भत्काएको घटनाबारे सांसदहरू तारा जोशी, हरिमोहन भण्डारी र जनकसिंह धामीले चासो राख्दा प्रधानमन्त्रीले ‘मलाई यसबारे जानकारी छ’ मात्र भनेर पन्छाउनुभएको थियो।
त्यस्तै, देशव्यापी रूपमा भइरहेको मल हाहाकार र आगामी वर्षको कृषि रणनीतिको विषयमा सांसद तारा जोशीले प्रश्न गर्दा प्रधानमन्त्रीले ‘नीति तथा कार्यक्रम हेर्नुभएन?’ भन्दै प्रतिक्रियात्मक उत्तर फर्काउनुभएको थियो।
छलफलमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको ‘बडी ल्याङ्ग्वेज’ र प्रस्तुति सहज नरहेको तथा सांसदहरूका प्रश्न सुन्दा तत्काल प्रतिकार गर्न खोज्ने शैली देखिएको भन्दै असन्तुष्टि र निराशा व्यक्त गरेका छन्। सांसद केपी खनालका अनुसार बैठकमा गेटा मेडिकल कलेज, छाडा पशुचौपायाको रोकथाम, कृषि मल र स्थानीय जनगुनासोहरू पनि प्रधानमन्त्रीसमक्ष पुर्याइएको थियो। बैठकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसहित चार जना सचिवालय सदस्यहरूको समेत उपस्थिति रहेको थियो।