देशको अर्थतन्त्रलाई पुनः गति दिने र उद्यमीहरूको आत्मविश्वास बढाउने उद्देश्यका साथ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूबीच महत्त्वपूर्ण छलफल भएको छ।
मंगलबार भएको उक्त भेटघाटलाई औपचारिक छलफल मात्र नभई अर्थतन्त्रलाई नयाँ चरणमा प्रवेश गराउने साझा अभियानको सुरुवातका रूपमा लिन अर्थमन्त्री वाग्लेले बैंकरहरूलाई आग्रह गरेका छन्। निजी क्षेत्रका उद्योगीहरूसँगको संवादपछि मन्त्री वाग्लेले वित्तीय प्रणालीका नेतृत्वकर्ताहरूसँग परामर्श गरेका हुन्।
“उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली नै छ,” अर्थमन्त्री वाग्लेले भने, “बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा बैंकरहरूलाई नै महसुस हुन्छ।”
अर्थमन्त्री वाग्लेले बैंकरहरूसँग सोधेका आधा दर्जन प्रश्नहरू:
अर्थमन्त्री वाग्लेले छलफललाई परिणाममुखी बनाउन बैंकरहरूमाझ निम्न प्रमुख प्रश्नहरू राखेका थिए:
-
अर्थतन्त्रको मनोविज्ञान: हाल बजार र व्यवसायीहरूको मनोविज्ञान कस्तो छ?
-
लगानीमा हिचकिचाहट: ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकिरहेको छैन?
-
अधिक तरलता: बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन? यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ कि निजी क्षेत्रको आत्मविश्वासमा?
-
संरचनागत सुधार: उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के-कस्ता संरचनागत र कानुनी सुधार आवश्यक छन्?
-
नयाँ दृष्टिकोण: मौद्रिक नीति, नियमन र सुपरीवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ?
-
प्रभावकारी समन्वय: अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई कसरी थप प्रभावकारी बनाउने?
समस्या पहिचान मात्र होइन, समाधानको रोडम्याप बनाउने प्रतिबद्धता
छलफल केवल समस्या देखाउनमा सीमित नहुने स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले कानुनी र प्रक्रियागत सुधारका लागि सरकार पछि नहट्ने बताए। “कानुनी सुधार आवश्यक भए कानुन सुधार्ने छौँ, प्रक्रियागत समस्या भए प्रक्रिया नै बदल्नेछौँ,” उनले थपे।
सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको भएको बताउँदै मंगलबार प्राप्त सुझावहरूलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने प्रतिबद्धता मन्त्री वाग्लेले जनाएका छन्।