प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद एवं पूर्वमन्त्री पद्मा अर्यालले सुकुमवासीको व्यथा र वास्तविकता आफूहरूले नजिकबाट बुझेकाले यसको दीर्घकालीन समाधानका लागि सरकारलाई सघाउने बताएकी हुन्।
एउटै डालोबाट समस्या समाधान गर्न सुझाव
अर्यालले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्यालाई अलग-अलग गरेर हेर्न नहुनेमा जोड दिइन्। दुवै समस्यालाई एकीकृत रूपमा सम्बोधन नगरेसम्म समाधान सम्भव नरहेको उनको भनाइ थियो।
“सुकुमवासी एकातिर र अव्यवस्थित बसोबासी अर्कोतिर राखेर दुई ढंगले यो समस्या समाधान हुनै सक्दैन,” सांसद अर्यालले भनिन्, “हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुमवासीको समस्या एउटै डालोबाट समाधान गर्नुपर्ने परिस्थितिमा छौँ। सरकारको ध्यान यतातर्फ जाओस् भन्ने चाहन्छु।”
विगतका उपलब्धिलाई जग मान्न आग्रह
संसद्मा बोल्दै सांसद अर्यालले आफ्नो कार्यकालमा भूमि सुधारका क्षेत्रमा गरिएका नीतिगत सुधारहरूको स्मरणसमेत गराइन्। आफूहरूले नै पहिलोपटक स्पष्ट ‘भूमि नीति’ र ‘भू-उपयोग कानुन’ ल्याएको दाबी गर्दै उनले अहिले त्यसको वर्गीकरण र कार्यान्वयनको दिशामा अघि बढिरहेको बताइन्। यी नीतिगत व्यवस्थाहरू नै भोलिका लागि बलियो आधार भएको उनको भनाइ थियो।