भद्रपुर, झापा । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ अन्तर्गत नेपाल लाईफ इन्स्योरेन्सको चन्द्रगढी र काँकरभिट्टा शाखाको संयुक्त भेला भव्यताका साथ सम्पन्न भएको छ। भेलाले दुवै शाखामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सपथ ग्रहण समेत गराएको छ।
चन्द्रगढी शाखामा बुद्धि खरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ शाखा समिति घोषणा गरिएको छ। समितिको उपाध्यक्षमा नीता दङ्गाल, सचिवमा गणेश गुप्ता र सह-सचिवमा शर्मिला अधिकारी चयन हुनुभएको छ। साथै, शाखामा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ।
यसैगरी, काँकरभिट्टा शाखामा रिता खवासको अध्यक्षतामा ७ सदस्यीय नयाँ शाखा समिति घोषणा गरिएको छ। जसको उपाध्यक्षमा भुमा देवी आङ्ग्देम्बे, सचिवमा लक्ष्मी पौडेल आचार्य, सह-सचिवमा टिकाराम रिजाल र कोषाध्यक्षमा बिमला राई चयन हुनुभएको छ।

भेलाका प्रमुख अतिथि एवं नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका राष्ट्रिय उपाध्यक्ष सिपि कडरियाले १४ वटा जीवन बीमा/ १४ वटा निर्जीवन बीमा, २ पुनर्बिमा र २ /२ माईक्रो लाईफ र नन लाईफ क्षेत्रको छाता सङ्गठनको रूपमा रहेको संघले सधैँ बीमित र अभिकर्ताको हितमा काम गर्ने बताउनुभयो।
बीमा क्षेत्रका समसामयिक विकृति र सुधारका पक्षहरूमा ध्यान दिन जरुरी रहेकोमा उहाँको जोड थियो । जीवन बीमातर्फ बच्चाको बीमा पोलिसीमा तय गरिएका हालका नियम तथा सर्तहरू (Terms and Conditions) मनासिव नभएको भन्दै उहाँले त्यसमा सुधार गर्न माग गर्नुभयो। बीमितहरूलाई राहत दिनका लागि वर्षमा कम्तिमा एकपल्ट बिलम्ब शुल्क (Late Premium Fine) मा शतप्रतिशत छुट दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो।
बीमाको पहुँच दूरदराजका सर्वसाधारणसम्म पुर्याउने दायित्व राज्यको भए पनि राज्यले यसमा बेवास्ता गरिरहेको उहाँले आरोप समेत लगाउनुभयो। निर्जीवन बीमा सेवा अझै पनि सर्वसाधारणको पहुँचमा पुग्न नसकेकाले यसलाई जनमैत्री बनाउन नियामक निकाय (बीमा प्राधिकरण) ले विशेष प्याकेज ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

यस्तै कडरियाले अभिकर्ताहरूको दर्ज्यानी र पदोन्नति लगायतका सवालहरूलाई बीमा समितिले नै नियमावली, कार्यविधि वा कानुन निर्माण गरी भरपर्दो र व्यवस्थित बनाउनुपर्ने माग राख्नुभयो।
भव्य रूपमा सम्पन्न भएको उक्त भेलामा नेपाल लाईफ तर्फका केन्द्रीय उपाध्यक्ष तेजमणी प्रसाईं, केन्द्रीय सचिव तेज प्रसाद तिवारी लगायतका नेता तथा ठुलो सङ्ख्यामा बीमा अभिकर्ताहरूको गरिमामय उपस्थिति रहेको थियो। नवगठित समितिका पदाधिकारीहरूले बीमा क्षेत्रको गरिमा बढाउन र अभिकर्ताहरूको हकहितका लागि सक्रियताका साथ लाग्ने प्रतिबद्धता जनाएका छन्।
