काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति गगन थापाका पछिल्ला अभिव्यक्तिमा चित्त दुखाएपछि दुई पार्टीबिच प्रदेशमा हुने भनिएको सत्ता सहकार्य भंग भएको नेताहरूले बताएका छन्।
असार ३० गते कांग्रेस सभापति थापा र नेकपा संयोजक प्रचण्डबिच भएको भेटवार्तामा प्रदेशमा मिलेर जाने सैद्धान्तिक सहमति भएको थियो। सोही दिन मध्यान्ह बसेको कांग्रेस पदाधिकारी बैठकले एमालेसँग प्रदेशमा सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि थापा नेकपासँग सहकार्यका लागि प्रचण्डलाई भेट्न पुगेका थिए।
सुरुवाती छलफल सकारात्मक भएपछि सभापति थापाले पदाधिकारी तहमा ब्रिफिङ गर्दै सहकार्य हुनेमा आश्वस्त पारेका थिए। तर, असार ३१ गते श्रीलंका भ्रमणमा गएका प्रचण्ड साउन ३ मा स्वदेश फर्किएपछि भने दृश्य पूर्ण रूपमा फेरियो।
कुन अभिव्यक्तिले दुख्यो प्रचण्डको मन?
श्रीलंकाबाट फर्किएपछि प्रचण्डले सभापति थापाका पछिल्ला अभिव्यक्तिहरूप्रति कडा असन्तुष्टि जनाएका थिए। खासगरी, कांग्रेस सभापति थापाले २०७२ देखि २०८२ सम्मको दशकलाई नेपाली कांग्रेस र देश दुवैका लागि ‘अँध्यारो’ र ‘काला दिनहरू’ भनी टिप्पणी गरेपछि प्रचण्ड रुष्ट बनेका थिए।
थापाले एक कार्यक्रममा भनेका थिए, “२०७२ देखि २०८२ सम्मको १० वर्ष केवल सत्ता र शक्तिका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइएका काला दिनहरू थिए।”
उक्त १० वर्षको अवधिमा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डले पालैपालो सरकारको नेतृत्व गरेका थिए। आफूहरूको शासनकाललाई थापाले ‘आत्मनिन्दा’को रूपमा व्याख्या गरेपछि प्रचण्डले कांग्रेससँग सहकार्य गर्न कठिन रहेको भन्दै नेकपाभित्र ब्रिफिङ गरेका थिए।
वार्ता भङ्ग र एमालेसँग नयाँ सहमति
साउन पहिलो साता प्रचण्ड र थापाबिच भएको दोस्रो चरणको छलफल निकै चिसो बनेको थियो। श्रीलंका जानुअघि बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व बाँडफाँड गर्ने विषयमा लचिलो देखिएका प्रचण्ड पछि प्राविधिक र राजनीतिक अभिव्यक्तिमाथि प्रश्न उठाउन थालेपछि वार्ता अघि बढ्न सकेन।
अन्ततः कांग्रेस सभापति थापासँगको सहकार्य टरेपछि नेकपा संयोजक प्रचण्डले साउन ९ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन बुँदे सहमति गरे। सहमतिअनुसार:
कोसी, बागमती र लुम्बिनीको नेतृत्व एमालेले गर्ने,
कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने तय भयो।
सोही सहमतिअनुसार कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भइसकेका छन्।
प्रदेश सरकारको वर्तमान अवस्था
एमाले र नेकपाको नयाँ गठबन्धन बनेपछि कर्णाली र लुम्बिनीबाट कांग्रेस बाहिरिएको छ भने सुदूरपश्चिम र बागमतीमा एमाले सरकारबाट बाहिरिएको छ। बागमतीमा नयाँ सरकार गठनका लागि राप्रपा र हाम्रो नेपाली पार्टी निर्णायक बनेका छन् भने सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नेकपाले सरकार बनाउने तयारी गरेको छ। मधेस र गण्डकीमा भने अझै पनि कांग्रेस नेतृत्वको सरकार सुरक्षित देखिन्छ।