काठमाडौँ । सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा सोमबार ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग गरेको छलफलपछि उक्त निर्णय लिइएको हो।
समितिका पदाधिकारीहरू:
-
संयोजक: भुपेन्द्र थापा (सहसचिव, गृह मन्त्रालय)
-
सदस्य: विपिन रेग्मी (एसपी, नेपाल प्रहरी)
-
सदस्य: विक्रम हुमागाईं (एसपी, सशस्त्र प्रहरी)
-
सदस्य: शालिग्राम भण्डारी (उपसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय)
-
सदस्य-सचिव: पोषण लामिछाने (सहायक प्रमुख जिल्ला अधिकारी, सुनसरी)
गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी एक साताभित्र गृहमन्त्रालयसमक्ष प्रतिवेदन बुझाउन म्याद दिइएको छ। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सजगताबारे पनि समितिले सुझाव दिनेछ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ। स्थिति थप बिग्रिन नदिन प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।