दक्षिणी सीमापछि उत्तरी सीमा पुगे गृहमन्त्री सुधन गुरुङ: बेपत्ता ईभी भ्यान चालकको खोजी तीव्र पार्न र रसुवागढी भन्सारको अनुगमन गर्न निर्देशन
केही समयअघि दक्षिणी (मध्य तराई) सीमा क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका गृहमन्त्री सुधन गुरुङ अहिले उत्तरी सीमातर्फ लागेका छन्। शनिबार साँझदेखि भोटेकोशी नदीमा खसेर बेपत्ता भएको विद्युतीय (ईभी) भ्यानका चालकको खोजीकार्य तीव्र पार्न र उद्धारमा खटिएका सुरक्षाकर्मीको हौसला बढाउन गृहमन्त्री गुरुङ रसुवा पुगेका हुन्।
उद्धार कार्यको निरीक्षणकै क्रममा उनले रसुवागढीस्थित भन्सार कार्यालय तथा सीमा क्षेत्रको समेत अनुगमन गरेका छन्।
आठ वर्षदेखि निर्माणाधीन एकीकृत भन्सार भवन चाँडो सक्न निर्देशन
रसुवागढी क्षेत्रको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले विगत आठ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको एकीकृत भन्सार कार्यालय (ICD) भवनको निर्माण कार्य तत्काल तीव्र गतिमा अघि बढाएर चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
साथै, सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी तथा भन्सार कर्मचारीहरूसँग छलफल गर्दै उनले सीमा सुरक्षा व्यवस्थालाई थप मजबुत र चुस्त बनाउन ताकिद गरे। भन्सारबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र छिटोछरितो बनाउन पनि उनले कडा निर्देशन दिएका छन्।