राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित आफ्ना प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी छ्यापेर गरिएको दुर्व्यवहारप्रति घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार एक विज्ञप्ति जारी गर्दै साउन ७ गते ‘जनतासँग सांसद’ कार्यक्रम सकेर फर्कने क्रममा सांसद पौडेलमाथि भएको अमानवीय हर्कतको तीव्र निन्दा गर्नुभएको हो।
लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध जनाउने अधिकार सबैलाई सुरक्षित भए पनि जनताबाट निर्वाचित प्रतिनिधिलाई हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार गर्नु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ। रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न, सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न सरकार र गृह प्रशासनसँग जोडदार माग गरेको छ।
रौतहटको गढीमाई नगरपालिका–४ स्थित पर्सा गाउँमा आयोजना गरिएको ‘जनतासँग सांसद’ भेटघाट कार्यक्रम सकेर फर्कने क्रममा बिहीबार राति अज्ञात समूहले पछाडिबाट सांसद पौडेलमाथि मसी छ्यापेर दुर्व्यवहार गरेको थियो।