विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद र ध्रुवीकरण पछिल्लो समय चरमचुलीमा पुगेको छ। बीपी स्मृति दिवसका अवसरमा संस्थापन पक्ष र इतर पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेपछि पार्टीभित्र विभाजनको रेखा अझ गाढा बनेको छ। बिहीबार कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेदेखि सुरु हुने गरी सामाजिक रूपान्तरण र सुशासनलाई लक्षित गर्दै ‘एनसी फर एनसी’ (NC for NC) अभियानको घोषणा गरेका छन्। यस अभियानमार्फत कार्यकर्तालाई रक्तदान, वृक्षारोपण, स्वास्थ्य शिविर तथा सुशासन सहजीकरण जस्ता जनताका प्रत्यक्ष सुख-दुःखसँग जोडिने रचनात्मक कार्यमा परिचालन गर्ने संस्थापन पक्षको रणनीति छ।
अर्कोतर्फ, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले वर्तमान नेतृत्वको कार्यशैलीले पार्टी कमजोर बनेको आरोप लगाउँदै साउन २९ गतेका लागि राष्ट्रिय भेला आह्वान गरेको छ। शुक्रबारदेखि भेलाको प्रतिनिधि छनोट, जिम्मेवारी बाँडफाँट र राजनीतिक, आर्थिक तथा सामाजिक प्रस्तावहरू तयार पार्ने काम अघि बढाएको छ। इतर समूहका नेताहरू पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले सभापति थापालाई सबै पक्षलाई मिलाएर लैजान आग्रह गर्दै सहमतिको प्रयास नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने र नयाँ बाटो तय गर्न बाध्य हुने चेतावनी दिएका छन्।
पार्टीभित्र शक्ति प्रदर्शन र आन्तरिक विग्रह बढे पनि तत्काल सिधै विभाजन भइहाल्ने सम्भावना नरहेको विश्लेषकहरूको ठम्याइ छ। त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक डा. भेषराज घिमिरेका अनुसार इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला र सर्वोच्च अदालतमा दिएको पुनरवलोकन रिट वास्तवमा संस्थापन पक्षलाई पुनर्मिलन र सहमतिका लागि दबाब सिर्जना गर्ने रणनीति हुन्। इतर पक्षका कार्यक्रमहरूमा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएकाले सभापति थापाले लचिलो बनेर सम्झौता (कम्प्रोमाइज) गरी पार्टी एकता जोगाउन पहल गर्नुपर्ने देखिन्छ।