नेपाली कांग्रेसले प्रदेश सरकारहरूको प्रभावकारिता, गठन र सञ्चालनबारे पार्टीका प्रदेश सभापति, संसदीय दलका नेता तथा मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकमा कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री गुरुराज घिमिरेको विशेष उपस्थिति रहेको थियो।
छलफलमा प्रदेशका तर्फबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, कर्णाली प्रदेशका सभापति ललितजंग शाही, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र संसदीय दलका नेता दिल्ली चौधरी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव तथा कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा सहभागी भएका थिए।
बैठकले प्रदेश सरकार निर्माण, सञ्चालन र निरन्तरताका लागि सबै साना-ठूला दलहरूसँग संवाद र सहकार्यको ढोका खुल्ला राख्ने निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए। प्रत्येक प्रदेशको राजनीतिक अवस्था फरक-फरक रहेकाले परिस्थिति अनुसार उपयुक्त निर्णय लिन वार्ता प्रक्रिया जारी राखिने उनको भनाइ छ।
अहिलेसम्म कुनै निश्चित दलसँग मात्रै मिलेर अघि बढ्ने अन्तिम सहमति भइनसकेको स्पष्ट पार्दै महामन्त्री घिमिरेले सत्ता समीकरण र सरकार सञ्चालनका विषयमा अन्य दलहरूसँग निरन्तर छलफल भइरहेको बताए।