राष्ट्रपति रामचन्द्र पौडेलले वीर पुर्खाको त्याग, बलिदान, साहस र वीरताकै कारण आज नेपालीहरूले शिर उँचो बनाएर गौरवका साथ उभिन पाएको बताउनुभएको छ। शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इतिहासका असल पक्षको अनुसरण गरेर मात्र वर्तमानलाई न्याय गर्न सकिने र यसैले भविष्य निर्माणको सुनौलो बाटो तय गर्ने धारणा व्यक्त गर्नुभयो। आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको बलमा राष्ट्रिय अखण्डतालाई मजबुत बनाउँदै समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गरी सुशासन कायम गर्नु नै वीर पुर्खाहरूप्रतिको सच्चा सम्मान हुने स्पष्ट पार्नुभयो। बहुआयामिक व्यक्तित्वका धनी भीमसेन थापा राष्ट्र र सार्वभौमसत्ताका विरुद्ध कहिल्यै नझुकेको प्रसङ्ग उल्लेख गर्दै अङ्ग्रेजसँगको युद्धमा ठूलो मूल्य चुकाउनुपरे पनि उहाँको दृढ देशभक्तिका कारण नै नेपाल स्वतन्त्र रहन सकेको उहाँको भनाइ थियो।