काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज बिहीबार नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्सको उट्रेक्टमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।
पहिलो खेलमा नामिबियासँग ८ विकेटको फराकिलो हार बेहोरेको नेपाल आजको खेल जित्दै पुनरागमन गर्ने दाउमा छ। एकदिवसीय विश्वकप छनोट यात्रालाई जीवितै राख्न नेपालका लागि यो सिरिज निकै महत्त्वपूर्ण मानिएको छ। तालिकाको शीर्ष चारमा परेर सिधै विश्वकप छनोट खेल्न नेपालले बाँकी ७ मध्ये ६ खेल जित्नुपर्ने चुनौतीपूर्ण समीकरण छ। नेपालले अब अक्टोबरमा क्यानडा र अमेरिकासँग मात्र सिरिज खेल्न बाँकी छ।
यद्यपि, पछिल्लो हारसँगै नेपालको शीर्ष चारमा पर्ने सम्भावना कमजोर बनेकाले टोलीको मुख्य ध्यान ओडीआई (ODI) वरीयता जोगाउनेतर्फ केन्द्रित देखिएको छ। शीर्ष ६ भित्र रहेर आगामी चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित गर्न नेपालले अब कम्तीमा ४ खेल जित्नुपर्नेछ।
अंक तालिकामा नेपाल २९ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ भने समान अंक भएको नामिबिया छैटौँ स्थानमा छ। २८ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहँदा, अमेरिका ४३ अंकका साथ शीर्ष र स्कटल्यान्ड दोस्रो स्थानमा रहेका छन्।