अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा

अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा

  • बुधबार, साउन ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्नुभएको अस्थायी १० प्रतिशत विश्वव्यापी आयात शुल्कको अवधि यसै साता समाप्त हुन लागेका बेला संयुक्त राज्य अमेरिकाले दर्जनौँ व्यापार साझेदार मुलुकलाई असर गर्ने नयाँ शुल्क घोषणा गर्ने तयारी गरेको छ । अमेरिकी प्रशासनले जबर्जस्ती श्रमविरुद्ध प्रभावकारी कदम नचालेको आरोप लगाउँदै करिब ६० व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने योजना अघि बढाएको हो ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्कसम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने सङ्केत गर्दै समयसीमा भने खुलाउनुभएन । उहाँका अनुसार जबर्जस्ती श्रमसँग सम्बन्धित विषयमा अमेरिकी व्यापार नीतिअनुसार थप कदम चालिनेछ ।

सर्वोच्च अदालतले यस वर्ष ट्रम्प प्रशासनको शुल्क व्यवस्थाको एक भाग खारेज गरेपछि फेब्रुअरीदेखि लागू गरिएको १० प्रतिशत अस्थायी विश्वव्यापी आयात शुल्क शुक्रबारबाट समाप्त हुँदैछ । विश्लेषकहरूका अनुसार त्यसको स्थानमा १० देखि १२ दशमलव पाँच प्रतिशतसम्मको नयाँ शुल्क लागू हुन सक्छ ।

नयाँ व्यवस्थाअन्तर्गत क्यानाडा, युरोपेली सङ्घ (इयु), मेक्सिको, ताइवान र बेलायतबाट हुने अमेरिकी आयातमा १० प्रतिशत शुल्क कायम रहने अनुमान गरिएको छ । चीन, भारत, जापानलगायत ४० भन्दा बढी प्रमुख अर्थतन्त्रबाट आयात हुने वस्तुमा १२ दशमलव पाँच प्रतिशतसम्म शुल्क लाग्न सक्ने बताइएको छ । युरोपेली सङ्घ (इयु) ले भने यस्तो शुल्कलाई अन्यायपूर्ण हुने बताउँदै असन्तुष्टि जनाइसकेको छ ।

ट्रम्प प्रशासनले पछिल्ला दिनमा व्यापारिक दबाबलाई थप तीव्र बनाएको छ । गत साता ब्राजिलका केही वस्तुमा २५ प्रतिशत नयाँ शुल्क घोषणा गरिएको थियो भने क्यानाडाका धेरै उत्पादनमा ५० प्रतिशत कर ३० दिनपछि लागू हुने निर्णय सार्वजनिक गरिएको छ ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सबै विकल्प खुला राखिएको बताउँदै सम्भावित व्यापार सम्झौताका लागि ट्रम्पसँग आगामी साताहरूमा वार्ता तीव्र बनाउने सहमति भएको जानकारी दिनुभएको छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले आयातित जेनेरिक औषधिमा क्षेत्रगत नयाँ शुल्क घोषणा गर्नुभएको छ । उहाँका अनुसार सन् २०२८ अगस्टदेखि यस्ता औषधिमा १०० प्रतिशत शुल्क लाग्नेछ र यसलाई सन् २०२९ मा २०० प्रतिशतसम्म पुर्‍याइने योजना छ । तर अमेरिकी उत्पादनलाई प्रोत्साहन दिन आगामी अगस्टदेखि केही समयका लागि ती औषधिमा शुल्क शून्यमा झारिने पनि उहाँले बताउनुभएको छ ।

अमेरिकी प्रशासनले जबर्जस्ती श्रमसम्बन्धी नयाँ व्यापारिक कारबाहीले अमेरिकी आयातको ठूलो हिस्सा समेट्ने र त्यसले विश्व व्यापारमा पुनः तनाव बढाउने जनाएको छ ।

उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को समीक्षा भइरहेका बेला अमेरिका र मेक्सिकोबीचको वार्ता तीव्र बने पनि क्यानाडासँगको छलफल अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । व्यापार प्रतिनिधि ग्रियर यसै साता सम्झौतासम्बन्धी छलफलका लागि मेक्सिको जाने कार्यक्रम छ ।

व्यापार कानूनका जानकारहरूले सन् १९३० को ट्यारिफ ऐनको धारा ३३८ प्रयोग गरी क्यानाडामाथि दबाब बढाउने अमेरिकी रणनीतिले दुई देशबीच थप तनाव उत्पन्न गर्न सक्ने बताएका छन् । उनीहरूका अनुसार यसले दुवै मुलुकबीच प्रतिशोधात्मक व्यापारिक कदमको चक्र सुरु हुने जोखिम बढाएको छ ।

यता, ब्राजिलका वस्तुमाथि २५ प्रतिशत अमेरिकी शुल्क लागू गर्ने निर्णयले पनि नयाँ विवाद सिर्जना गरेको छ । ब्राजिलको आगामी राष्ट्रपतीय निर्वाचनअघि लागू हुन लागेको उक्त शुल्कबाट गाईको मासु, कफी र केही विमानका पुर्जाजस्ता सीमित वस्तु भने छुटमा रहनेछन् । तर ब्राजिलस्थित अमेरिकन चेम्बर अफ कमर्सले नयाँ व्यवस्थाले ब्राजिललाई अमेरिकी बजार पहुँचका हिसाबले सबैभन्दा बढी प्रतिबन्ध सामना गर्ने मुलुकमध्ये एक बनाउने र ११ अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी