काठमाडौं । सरकारले बजारमा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने संस्कृतिको विकास गर्न आकर्षक नगद उपहार योजना सुरु गरेको छ। अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै दैनिक र पाक्षिक रूपमा लाखौँ रुपैयाँ नगद जित्न सकिने व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब सामान किनेर बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गर्नेछन्।
कसरी सहभागी हुने? (नियम र प्रक्रिया)
न्यूनतम खरिद: नेपालभित्र आफ्नै प्रयोजनका लागि एक पटकमा कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढीको वस्तु वा सेवा खरिद गरेको हुनुपर्नेछ।
डिजिटल भुक्तानी: यदि उपभोक्ताले डिजिटल माध्यम (क्यूआर कोड, मोबाइल बैंकिङ, कार्ड आदि) बाट भुक्तानी गरेमा उक्त कारोबार स्वतः प्रणालीमा दर्ता हुनेछ र उपहार टिकट प्राप्त हुनेछ।
नगद भुक्तानी: नगद वा अन्य माध्यमबाट खरिद गरी वैध बिल लिएका उपभोक्ताले आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एपमा गई विवरण प्रविष्ट (इन्ट्री) गर्नुपर्नेछ।
इन्ट्री गर्नुपर्ने विवरणहरू: बिल नम्बर, बिक्रेताको प्यान (PAN) नम्बर, बिल जारी भएको मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर।
कुन-कुन बिल मान्य हुँदैनन्?
व्यापारिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी, ढुवानी तथा हवाई टिकटका बिलहरू यस योजनामा सहभागी हुन पाउने छैनन्। साथै, प्यान नम्बर नभएका पसल वा विक्रेताबाट लिएका बिल पनि मान्य हुने छैनन्।
कसरी हुन्छ विजेताको छनोट?
आन्तरिक राजस्व विभागको प्रणालीबाट स्वचालित (Automated) रूपमा लक्की ड्र मार्फत विजेता छनोट गरिनेछ। पारदर्शिताका लागि विजेता छनोट गर्दा उच्चपदस्थ अधिकारी, विभिन्न निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूलाई समेत आमन्त्रण गरिने कार्यविधिमा उल्लेख छ।
दैनिक उपहार: हरेक दिन १ जनाले १ लाख ३३ हजार ३४ रुपैयाँ पाउनेछन्।
पाक्षिक बम्पर उपहार: महिनामा दुई पटक बम्पर उपहारको ड्र हुनेछ, जसमा २ जना विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
ड्र हुने मिति: हरेक महिनाको १ गते र १६ गते अघिल्लो १५ दिनको कारोबारका आधारमा विजेता घोषणा गरिनेछ।
उपहार दाबी गर्ने प्रक्रिया र सर्तहरू
विजेता घोषणा भएपछि विभागले सम्बन्धित व्यक्तिको मोबाइल नम्बर र इमेलमा जानकारी पठाउनेछ। साथै विभागको वेबसाइट र सामाजिक सञ्जालमा पनि नतिजा सार्वजनिक गरिनेछ।
१५ दिने म्याद: विजेताले नाम घोषणा भएको १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा दाबी पेस गरिसक्नुपर्नेछ।
आवश्यक कागजात: सक्कल बिल, नागरिकता वा राष्ट्रिय परिचयपत्र (वा राहदानी/लाइसेन्स), बैंक खाताको विवरण र प्यान (PAN) नम्बर।
कर कट्टी र भुक्तानी: उपहार रकममा आयकर ऐनबमोजिम २५ प्रतिशत आकस्मिक लाभ कर (Windfall Tax) कट्टी गरिनेछ। कागजात प्रमाणीकरण भएको १० दिनभित्र रकम सिधै बैंक खातामा जम्मा हुनेछ।
यदि तोकिएको १५ दिनभित्र कसैले पनि उपहार दाबी नगरेमा उक्त रकम स्वतः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने कार्यविधिमा उल्लेख छ।
सरकारले कर प्रणालीमा आबद्धता बढाउन, वस्तु तथा सेवा खरिद-बिक्रीको वास्तविक अभिलेखीकरण गर्न र उपभोक्तालाई बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले यो बजेटमार्फत यो कार्यक्रम ल्याएको हो।