काठमाडौँ । सरकारले अस्थायी र करारका कर्मचारी हटाउने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीहरू आन्दोलित भएका छन् । बुधबार विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी र करारका कर्मचारीहरूले सेवा निरन्तरताको माग गर्दै अर्थ मन्त्रालयमा धर्ना दिएका हुन् ।
सरकारले खर्च कटौतीको नाममा आफूहरूलाई हटाएर ‘आउटसोर्सिङ’ मार्फत काम गर्ने नीति लिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । जागिरको सुनिश्चितता हुनुपर्ने र करार सेवालाई निरन्तरता दिनुपर्ने माग राख्दै आन्दोलनरत कर्मचारीहरूले दबाबस्वरूप धर्ना कार्यक्रम जारी राखेका छन् ।
सांसद तामाङको समर्थन
धर्नास्थलमै पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आन्दोलनरत कर्मचारीहरूको माग र समस्याका बारेमा जानकारी लिनुभएको छ । सो क्रममा उहाँले कर्मचारीहरूको जायज मागलाई आफूले संसदमा जोडदार रूपमा उठाउने र यो विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारको मितव्ययिता नीतिविरुद्ध कर्मचारीहरूले एकताबद्ध भएर आफ्ना हकहितका लागि आवाज उठाएपछि यो विषय अहिले चर्चामा रहेको छ ।