३१ असार, काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेबाट सुरु भएको छ । यसअघि बिहान ११ बजेका लागि तय भएको बैठक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्ने भएकाले दुई घण्टा ढिलो गरी सुरु भएको हो । आजको बैठक सकिएपछि प्रतिनिधिसभा आगामी दुई साताका लागि स्थगित हुने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको सहमति अनुसार, अर्को बैठक साउनको दोस्रो साताको अन्तिम अर्थात् साउन १४ गते बस्ने गरी छलफल भएको छ । यसबारे आजको बैठकको अन्तिममा सभामुखले आधिकारिक जानकारी गराउँदै अर्को बैठकको समय तोक्नुहुनेछ ।
आजको बैठकका मुख्य कार्यसूचीहरू:
आजको प्रतिनिधिसभा बैठकमा विभिन्न आयोगका प्रतिवेदनहरू पेस गर्नेदेखि महत्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरू अनुमोदन गर्ने कार्यसूची रहेको छ:
वार्षिक प्रतिवेदनहरू पेस: प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको ७औँ वार्षिक प्रतिवेदन सदनसमक्ष पेस गर्नुहुनेछ ।
विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव: अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
श्रम महासन्धिमाथि छलफल र अनुमोदन: युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को ‘बाध्यकारी श्रम महासन्धि’ र ‘श्रम निरीक्षण सम्बन्धी महासन्धि’ माथि सदनमा छलफल र आजै अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।