प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्तीबाट हटाइएका नागरिकहरूलाई सरकारले अझ भयावह जोखिममा धकेलेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेता आङ्देम्बेले सुकुमबासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले विगतमा गरेको सार्वजनिक प्रतिबद्धतामाथि कडा प्रश्न उठाएका हुन्।
“प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु– ‘ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ।’ आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन?” आङ्देम्बेले विज्ञप्तिमा भनेका छन्।
होल्डिङ सेन्टर नै डुबानमा: ‘जोखिममुक्त होइन, संकटमा धकेलियो’
नेता आङ्देम्बेका अनुसार जोखिमबाट जोगाउने नाममा विस्थापित गरिएका सुकुमबासी नागरिकलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारको लापरबाही छताछुल्ल भएको छ। सरकारले उनीहरूलाई जोखिमबाट मुक्त गरेको नभई एउटा सानाे जोखिमबाट निकालेर अर्को अझ भयावह र संकटपूर्ण अवस्थामा धकेलेको यथार्थ उजागर भएको उनले उल्लेख गरे।
सुरक्षित आश्रयको आश्वासन पाएका सुकुमबासी नागरिक आज फेरि भोक, पानी, हिलो, अभाव र असुरक्षाबिच पीडादायी जीवन बिताउन बाध्य भएको आङ्देम्बेको भनाइ छ। उनले यस घटनालाई सुकुमबासी नागरिकसँग गरिएको सार्वजनिक प्रतिबद्धता पूरा गर्न नसकेको राज्यको चरम गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको ज्वलन्त उदाहरणका रूपमा व्याख्या गरे।
प्रश्न सोध्ने युवा पक्राउ परेकोमा आपत्ति: ‘लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो?’
कांग्रेस नेता आङ्देम्बेले सरकारले नागरिकको प्रश्न उठाउने अधिकारसमेत निषेध गर्न खोजेको भन्दै तीव्र आक्रोश पोखेका छन्। होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको उनले भर्त्सना गरे।
“झन् दुःखद र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिइयो,” आङ्देम्बेले प्रश्न गरे, “म सोध्न चाहन्छु, लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो?”
प्रधानमन्त्री बालेनले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको सीधा आक्रमण भएको कांग्रेसको ठहर छ।
“इतिहासले खोक्रा भाषणको होइन, हिसाब राख्नेछ”
विज्ञप्तिको अन्त्यमा नेता आङ्देम्बेले प्रधानमन्त्री बालेनलाई सुकुमबासी नागरिकसँग गरेको वाचाको जवाफ दिन आग्रह गर्दै चेतावनीपूर्ण भाषामा भनेका छन्:
“प्रधानमन्त्रीजी, सुकुमबासी नागरिकसँग गर्नुभएको वाचाको जवाफ दिनुहोस्। किनभने इतिहासले तपाईंका खोक्रा भाषणलाई होइन, नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् भन्ने कुराको हिसाब राख्नेछ।”