धनुषा, २६ असार ।
मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्याय माग्दै सङ्घीय राजधानी काठमाडौँका लागि पैदल हिँडेका पीडितहरू धनुषाको ढल्केबर आइपुगेका छन्।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको यो पैदल ‘न्याय मार्च’ मधेस प्रदेशको राजधानी जनकपुरधामबाट सुरु भएको हो। मिटरब्याजको दीर्घकालीन समस्या समाधान गर्न सरकारलाई निर्णायक दबाब दिने उद्देश्यले पीडितहरू फेरि सडकमा उत्रिएका हुन्।
जनकपुरधामको तिरहुतियागाछीमा विशेष कार्यक्रम गरी बिहीबार साँझ ५ बजे यात्रा सुरु गरेका आन्दोलनकारीहरू पैदल यात्राको दोस्रो दिन बिहानै ढल्केबर आइपुगेका हुन्। न्यायको खोजीमा रहेका पीडितहरूको यो टोली धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अगाडि बढिरहेको छ। पैदल टोली करिब एक साताको अवधिमा काठमाडौँ आइपुग्ने अनुमान गरिएको छ।
सरकारले यसअघि मिटरब्याज पीडितहरूसँग विभिन्न समयमा चार पटकसम्म लिखित सहमति गरे पनि ती सहमतिहरू अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्। राज्यले आफूहरूसँग गरेका बाचा र सहमतिहरू कागजमै सीमित भएपछि फेरि पनि सरकारलाई घचघच्याउन र दबाब दिन काठमाडौँसम्मको लामो पैदल यात्रा तय गर्नुपरेको पीडितहरूको भनाइ छ। साहुमहाजनको ऋणको चक्रव्यूहमा फसेका किसान र मजदुरहरूले न्याय नपाएसम्म आफ्नो आन्दोलन नरोकिने चेतावनी दिएका छन्।