काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। जारी फिफा विश्वकप–२०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा ब्राजिल नर्वेसँग पराजित भएसँगै ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो ऐतिहासिक यात्राको अन्त्य गरेका हुन्।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा गएराति भएको रोमाञ्चक खेलमा ब्राजिल नर्वेसँग २–१ गोल अन्तरले स्तब्ध भएको थियो। नर्वेका लागि स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए। खेलको इन्जुरी समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ब्राजिललाई हारबाट जोगाउन पर्याप्त भएन। नर्वेविरुद्धको यही गोल नै अब ब्राजिलको जर्सीमा उनको अन्तिम गोल बनेको छ।
‘यात्रा यहीँ सुरु भयो, यहीँ सकियो’ – भावुक नेयमार
नर्वेसँगको अप्रत्याशित पराजयपछि मैदानमै निकै भावुक देखिएका नेयमारले सन्यासको घोषणा गर्दै भने,
“मैले देशका लागि धेरै प्रयास गरेँ। मेरो अन्तर्राष्ट्रिय यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र आज यहीँ अन्त्य भयो। अब मेरा लागि सबै सकियो।”
चोट (इन्जुरी) बाट भर्खरै मैदान फर्किएका नेयमारले यो विश्वकपमा आफ्नो सदावहार जादु देखाउन सकेनन्। चोटकै कारण सुरुवाती खेलहरू गुमाएका उनी पछिल्लो समय टोलीमा फर्किए पनि अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। स्कटल्यान्ड र नर्वेविरुद्धको खेलमा पनि उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए।
यस्तो रह्यो नेयमारको १६ वर्षे सुनौलो इतिहास
सन् २०१० मा १८ वर्षको उमेरमा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल पनि न्युजर्सीकै रंगशालामा खेलेका थिए। संयोगवश, उनको अन्तिम खेल पनि सोही रंगशालामा हुन पुग्यो।
सर्वाधिक गोलकर्ता: १६ वर्षको खेल जीवनमा उनले ब्राजिलका लागि १२९ अन्तर्राष्ट्रिय खेल खेल्दै ८० गोल गरे। उनी ब्राजिलको पुरुष फुटबल इतिहासमै पेले (७७ गोल) लाई पछि पार्दै सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
विश्वकप यात्रा: उनले आफ्नो करियरमा सन् २०१४, २०१८, २०२२ र २०२६ गरी चार संस्करणको फिफा विश्वकप खेले। तर, ब्राजिललाई विश्वकपको उपाधि दिलाउने उनको सपना भने अधुरै रह्यो।
ओलम्पिक सफलता: विश्वकप जित्न नसके पनि उनले ब्राजिललाई ओलम्पिकमा ठुलो सफलता दिलाए। सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक जितेका नेयमारले सन् २०१६ को रियो ओलम्पिकमा टोलीको कप्तानी गर्दै ब्राजिललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका थिए।
विश्व फुटबलकै एक प्रभावशाली र जादुमयी खेलाडी नेयमारको सन्याससँगै ब्राजिलियन फुटबलको एउटा सुनौलो कालखण्डको अन्त्य भएको छ।