फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) अन्तर्गत सम्पन्न दुई रोमाञ्चक खेलहरूमा जित दर्ता गर्दै मोरक्को र फ्रान्स प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मोरक्कोले सह–आयोजक क्यानडाको विश्वकप यात्रा समाप्त गरिदिएको छ भने पूर्व विजेता फ्रान्सले पाराग्वेमाथि कठिन जित निकाल्दै आफ्नो अघिल्लो चरणको यात्रा सुरक्षित गरेको हो ।
टेक्ससको ह्युस्टन स्टेडियममा सम्पन्न पहिलो खेलमा मोरक्कोले सह–आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरण खेलिरहेको क्यानडाले खेलको पहिलो हाफमा मोरक्कोलाई कडा टक्कर दिएको भए तापनि दोस्रो हाफमा मोरक्को पूर्ण रूपमा हाबी हुन पुग्यो । खेलको ५०औँ मिनेटमा अज्जेदिन ओनाहीले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । पुनः ८२औँ मिनेटमा ब्राहिम डियाजको पासमा ओनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी सुफियान राहिमीले तेस्रो गोल थपेपछि मोरक्कोले ३–० को सानदार जित हासिल गर्यो । यस जितसँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक क्वार्टरफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्न सफल भएको छ ।
पेन्सिलभेनियाको फिलाडेल्फिया स्टेडियममा खेलिएको अर्को प्रतिस्पर्धात्मक खेलमा उपाधि दाबेदार फ्रान्सले पाराग्वेमाथि १–० को कठिन जित दर्ता गर्यो । ३८ डिग्री सेल्सियसको अत्यधिक गर्मीका बीच खेलिएको यस खेलमा पूर्व विजेता जर्मनीलाई पराजित गरेर आएको पाराग्वेले बलियो रक्षात्मक रणनीति अपनाउँदै फ्रान्सेली स्ट्राइकरहरूलाई ६५ मिनेटभन्दा बढी समय रोकेर राखेको थियो । खेलको ६७औँ मिनेटमा पाराग्वेका डिफेन्डरले फ्रान्सका डिजेरे डोइलाई डिबक्स भित्र लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को लामो रिभ्युमार्फत फ्रान्सले पेनाल्टीको अवसर प्राप्त गर्यो । ७०औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई निर्णायक अग्रता दिलाए । यो गोलसँगै जारी विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या ७ पुगेको छ र उनी अर्जेन्टिनाका लियोनेल मेसीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । खेलको अन्तिम मिनेटमा पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले एम्बाप्पेका दुईवटा उत्कृष्ट प्रहारलाई विफल तुल्याए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यस खेलको नतिजासँगै अब आउँदो बिहीबार (जुलाई ९) मा बोस्टन स्टेडियममा हुने प्रतिष्ठित क्वार्टरफाइनल खेलमा सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को आमनेसामने हुने निश्चित भएको छ ।