एमाले र नेकपाबिच तत्काल एकता नहुने: ओली र प्रचण्डद्वारा संयुक्त मोर्चा र सहकार्यमा जोड

एमाले र नेकपाबिच तत्काल एकता नहुने: ओली र प्रचण्डद्वारा संयुक्त मोर्चा र सहकार्यमा जोड

  • मङ्लबार, असार १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाबिच पार्टी एकताको चर्चा चुलिएका बेला दुवै शीर्ष नेताले तत्काल एकता असम्भव भएको स्पष्ट पारेका छन्।

असार १४ गते जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा एउटै मञ्च सेयर गरेपछि दुई पार्टीबिच एकताको ‘वार्मअप’ सुरु भएको भनी राजनीतिक वृत्तमा गरिएका आङ्कलनलाई ओली र प्रचण्ड दुवैको पछिल्लो अभिव्यक्तिले पूर्णविराम लगाइदिएको छ।

प्रचण्डको ब्रिफिङ : महाधिवेशन अघि एकता सम्भव छैन

नेकपाका संयोजक प्रचण्डले सोमबार पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकमा ब्रिफिङ गर्दै तत्कालका लागि वाम एकताको च्याप्टर बन्द भएको संकेत गरे। आगामी स्थानीय निर्वाचन र पार्टी सुदृढीकरणलाई ध्यान दिँदै उनले पहिला आफ्नै संगठन बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै नेता सरल सहयात्री पौडेलले भने:

“मैले अहिले नै एकता हुनुपर्छ भनेर कहीँ कतै भनेको छैन। महाधिवेशन अगाडि एकता सम्भव पनि छैन, अहिले हुँदा पनि हुँदैन। अहिलेको आवश्यकता वामपन्थी, समाजवादी मोर्चा र देशभक्तहरूसँग सहकार्यको मात्र हो। मैले एमाले लगायतका दलहरूसँग सहकार्यका लागि संवाद गरेको हुँ, एकताका लागि होइन।”

प्रचण्डले अब वडा तहसम्मै सदस्यता नवीकरण, वितरण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्न मातहतका कमिटीलाई निर्देशन दिएका छन्।

केपी ओलीको प्रस्टीकरण: एकता होइन, संयुक्त सङ्घर्ष जरुरी छ

प्रचण्डले पार्टीमा ब्रिफिङ गरेको भोलिपल्टै (मङ्गलवार) एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा सोही कुरा दोहोर्‍याएका छन्। राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताको भ्रममा नपर्न नेता-कार्यकर्तालाई आग्रह गरे।

अध्यक्ष ओलीले भने:

“देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबिच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्छ। हामी समूहगत र संस्थागत एकता गर्दैनौँ, तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई उदारताका साथ समेट्छौँ।”

कार्यकर्ताको मत: हतारको एकता दिगो हुँदैन

विगतमा (२०७५ सालमा) भएको पार्टी एकता नटिकेको तितो अनुभव स्मरण गर्दै दुवै पार्टीका दोस्रो तहका नेता तथा कार्यकर्ताहरूले बस्तुनिष्ठ समीक्षा नगरी हतारमा गरिने एकता दिगो नहुने मत राख्दै आएका छन्।

यसैबिच, पार्टीभित्रै एउटा तप्काले भने ओली र प्रचण्ड अभिभावकको भूमिकामा बसेर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सार्दा उपयुक्त हुने बहस समेत चलाउन थालेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी