१४ असार, काठमाडौँ । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) का खेलहरू आज रातिदेखि सुरु हुँदै छन्। इतिहासकै सबैभन्दा ठूलो यस विश्वकपमा सहभागी ४८ टोलीमध्ये समूह चरणका ७२ खेलपछि ३२ टोलीले नकआउटमा स्थान बनाएका हुन् भने १६ टोली बाहिरिएका छन्।
यस संस्करणबाट थपिएको नयाँ संरचनाअनुसार ‘राउन्ड अफ ३२’ को पहिलो खेलमा आज सह-आयोजक क्यानडा र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै छ। अमेरिकाको लस एन्जलस स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ।
इतिहास रच्ने दाउमा दुवै टोली
क्यानडा र दक्षिण अफ्रिका दुवैले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएका हुन्। दुवै टोली आ-आफ्नो समूहमा उपविजेता बन्दै अघि बढेका हुन्। ‘बफाना बफाना’ उपनामले चिनिने दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता हो भने क्यानडा समूह ‘बी’ को उपविजेता बन्दै नकआउटमा पुगेको हो।
विश्वकपको मञ्चमा यी दुई टोली पहिलो पटक आमने-सामने हुन लागेका हुन्। समग्र फुटबल इतिहासमा भने यो उनीहरूको दोस्रो भेट हुनेछ। यसअघि सन् २००७ मा डर्बानमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई २-० ले पराजित गरेको थियो।
विजेता टोलीको यात्रा कहाँसम्म?
आजको खेलमा जित निकाल्ने टोलीले इतिहास रच्दै अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा प्रवेश पाउने छ। यस खेलको विजेताले अर्को खेलको विजेता अर्थात् नेदरल्यान्ड्स र मोरक्कोबीच हुने खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।